अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।
तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मी विरुद्ध एक महिलाले बलात्कार गरेको भनी किटानी उजुरी दिएकी छन् ।
सोही वडाकी २५ वर्षीया युवतीले आफुलाई पटक पटक वडाध्यक्ष रेग्मीले बलात्कार गरेको भन्दै न्यायीक समिति शुक्लागण्डकी नगरपालिका दुलेगौंडामा उजुरी दिएकी हुन् ।
युवतीले दिएको उजुरी पत्रमा असोज २९ गते र कार्तिकमा दुई पटक बलात्कार गरेको उनले उल्लेख गरेकी छन् ।
उनको उजुरीलाई सम्बोधन गर्दै नगरपालिकाकी उप प्रमुख सविता रसाइलीले आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय वेलचौतारा तनहुँ पठाएकी हुन् । तर वेलचौतारा प्रहरी प्रमुख तथा इन्स्पेक्टर श्रवणकुमार विकले उजुरी सहितको पत्र आफुकहाँ नआएको भन्दै तर्किए ।
प्रहरी प्रमुख विकलाई सबै थाहा भएपनि घटना लुकाउन थाहा नभए जस्तो गरेको स्रोतले बतायो । ‘युवतीले नगरपालिकामा ३ गते उजुरी दिएकी थिइन् भने ५ गते नै प्रहरीकँहा फरर्वाड भएको थियो,’ स्रोतले भन्यो, ‘बलात्कार जस्तो घटनामा किटानी जाहेरी दिदा समेत प्रहरीले किन आलटाल गर्यो भन्ने प्रश्नको विषय बनेको छ ।’
घटना बारे ताण्डव न्यूजले वेल चौतार प्रहरी प्रमुख विकलाई फोन सम्पर्क गर्दा उनले यस घटनामा कुनै पनि उजुरी र कहिबाट कुनै पत्र नआएको बताए । ‘घटना बारे केही थाहा छैन,’ उनले भने, ‘कतैबाट केही पत्र म कहाँ आएको छैन ।’
पीडितलाई दवाव
उजुरी फिर्ता लिन भन्दै पीडित युवतिलाई स्थानीय राजनीतिक दलका नेतादेखि केन्द्रिय स्तरका नेताहरुले पनि पटक पटक दवाव दिएको स्रोतले बतायो । राजनीतिक दवावपछि स्थानीय प्रहरीले पनि घटना लुकाउन खोजेको पीडित पक्षको आरोप छ ।
घटनाबारे जानकारी लिन वडाध्यक्ष रेग्मीलाई फोन सम्पर्क गर्दा उनको फोन अफ सुनियो ।
नगरपालिकाले वेल चौतारी प्रहरीलाई पठाएको पत्र विवरण
श्री ईलाका प्रहरी कार्यालय
वेलचौतारा तनहुँ
विषय : उजुरी फरवार्ड गरिएको बारे ।
महोदय,
उपयुक्त सम्बन्धमा ४ न प्रदेश शुक्लागण्डकी नगरपालिका निवासी……को छोरी वर्ष २५ की……को मिति २०७५ मसिर ३ गते यस न्यायिक समितिको कार्यालयमा दर्ता हुन आएको र उक्त निवेदन पत्रमा निवेदनको उजुरी प्रकृति यस न्यायिक समितिको क्षेत्राधिकार भित्र नपर्ने देखिन आएको हुँदा प्रचलित नेपाल कानुन अनुसार गर्न गराउन इलाका प्रहरी कार्यालय वेलचौतारालाई सिफारिस गरिन्छ ।
न्यायिक समिति संयोजक एव उप प्रमुख
सविता रसाइली
शुक्लागण्डकी नगरपालिका
उजुरी पत्र
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.