www.tandavnews.com
Fact ~ In search of truth

बिरामीको चन्दाबाट विद्यालय सञ्चालन

धुव्रसागर शर्मा

गलेश्वर ।

बिरामीले दिएको चन्दाबाट माध्यमिक तहसम्मको कक्षा सञ्चालन भएको छ भन्ने कुरा सुन्दा तपाईंलाई पत्यार नलाग्ला तर म्याग्दीको बेनी नगरपालिका–४ मा सञ्चालित सरस्वती माध्यमिक विद्यालय अहिलेसम्म बिरामीकै चन्दाबाट सञ्चालन हुँदै आइरहेको छ ।

विसं २०२८ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको तातोपानीस्थित उक्त विद्यालयले २०६८ सालमा माध्यमिक तहको स्वीकृति प्राप्त गरेसँगै निरन्तररुपमा बिरामीको चन्दाबाट सञ्चालित हुँदै आएको हो ।
प्राकृतिक उपचार केन्द्रको रुपमा चर्चित म्याग्दीको सिंगा तातो पानी स्थित तातोपानी कुण्डमा उपचारका लागि आएका बिरामीले दिएको चन्दा र तिरेको शुल्क तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालय सञ्चालनमा खर्च गर्ने गरेको छ ।

सरकारले मावि तहसम्म सञ्चालनका लागि स्वीकृति दिए पनि शिक्षक दरबन्दी नदिएका कारण विद्यालयदेखि करीब १० मिनेटको दूरीमा रहेको ‘प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड’को आम्दानीबाट विगत सात वर्षदेखि नौ शिक्षकलाई तलब उपलब्ध गराउँदै आएको उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त उपाध्यायले बताए।

“उक्त कुण्डमा उपचारका लागि गएका बिरामीको दिएको चन्दाबाट कुण्ड व्यवस्थापन समितिले वार्षिक २२ लाख रुपैँया विद्यालयलाई दिने गरेको छ”, अध्यक्ष उपाध्यायले भने, “सोही रकमबाट आधारभूत र मावि तहका नौ शिक्षकलाई तलब खुवाउने गरेका छौँ ।”

विद्यालयमा हाल १७ शिक्षक÷शिक्षिका कार्यरत रहेकामा सरकारी दरबन्दीका जम्मा पाँच मात्र छन् ।
“प्रावि तहका पाँच शिक्षकमात्र सरकारी दरबन्दीमा हुनुहुन्छ”, विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले भने “आधारभूत र मावि तहमा पढाउने शिक्षकले उक्त कुण्डमा उपचारका लागि आउने बिरामीले कुण्ड व्यवस्थापन समितिलाई दिएको चन्दा र शुल्कबाट नै तलब दिने गरेका छौँ ।”

विसं २०७१ देखि नियमितरुपमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सम्मिलित हुँदै आएको यस विद्यालयमा हाल २७५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले एसइई परीक्षामा हरेक वर्ष उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ ।

प्रधानाध्यापक बानियाँले भने, “हाम्रो विद्यालय बिरामी व्यक्तिको चन्दा सहयोगबाट सञ्चालित छ तर शिक्षक साथीको लगाव र समुदायको निगरानीका कारण गुणस्तरमा भने अब्बल छ ।”

बिरामीको चन्दाबाटै दुईवटा पक्की विद्यालय भवन पनि निर्माण गरिएको छ । एउटा छ कोठे भूकम्प प्रतिरोधात्मक भवन र एउटा आठ कोठे पक्की भवन पनि उक्त समिति र समुदायको रु एक करोडभन्दा बढीको सहयोगमा निर्माण भएको हो । भवन निर्माणमा पनि सरकारी सहयोग भने न्यून रहेको विद्यालयले जनाएको छ ।

विद्यालयमा राजनीतिक तहका विशिष्ट व्यक्ति, मन्त्री, नीति निर्माण तहका उच्च अधिकारी र राज्यका सबै तहका विशेष व्यक्ति पुग्ने गरेका छन् । गत महीनामात्र भूतपूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वर्तमान गृहमन्त्री रामबहादुर थापा विद्यालयमै पुगेका थिए ।

“माध्यमिक र आधारभूत तह बिरामीको चन्दाबाट सञ्चालन हुँदै आएको कुरा हामीले माननीय अर्थमन्त्री र भूतपूर्व प्रधानमन्त्री ज्यूलाई पनि जानकारी गराएका थियौँ, उहाँहरुले पनि आश्चर्य प्रकट गर्दै सरकारी अनुदानबाटै तलब र भत्ता खाने गरी शिक्षक दरबन्दी मिलान गर्ने आश्वासन दिनुभएको थियो”, प्रधानाध्यापक बानियाँले भने।

दुई वर्ष अघि तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोख्रेल उक्त कुण्डमा आएको मौकापारी विद्यालयमा पुगेका । मन्त्री पोख्रेललाई पनि विद्यालयको समस्याबारे जानकारी गराइएको तर कुनै परिणाम प्राप्त नभएको विद्यालयका पूर्व प्रधानाध्यापक एवं सूचना अधिकृत नोठवहादुर बानियाँले जानकारी दिए।

भूतपूर्व प्रधानमन्त्री, शिक्षामन्त्री, वर्तमान गृहमन्त्रीदेखि राज्यको नीति निर्माण तहका व्यक्तिलाई विद्यालय प्राङ्गणभित्रै स्वागत गर्दै विद्यालयको अवस्थाको बारेमा जानकारी गराए पनि कसैले ध्यान नदिँदा अझै पनि विद्यालय बिरामीकै दानबाट सञ्चालित हुनु दुःखद् भएको स्थानीयवासीले बताए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य विक्रम बुढाथोकीले भने “उपचारका लागि तातोपानी कुण्डमा डुब्न आएका बिरामीको भरमा कहिलेसम्म विद्यालय सञ्चालन गर्ने सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ ।” रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.