www.tandavnews.com
Fact ~ In search of truth

सेमेस्टर लागु गरेका क्याम्पसलाई अनुदान

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा अघि बढाउने भएको छ । स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भए पनि राम्रोसँग सञ्चालन हुन नसकेकाले त्यस्ता क्याम्पसलाई अनुदान थालेको हो ।

त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा . डा ऋदीशकुमार पोखरेलले उक्त प्रणाली व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि क्याम्पसलाई प्रोत्साहन दिन थालिएको बताए। त्रिविले भौतिक पूर्वाधारविना स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सञ्चालन गरेकाले आलोचना हुँदै आएको थियो ।

स्नातकोत्तर तहमा विसं २०७१ बाट केन्द्रीय क्याम्पसमा र विसं २०७२ बाट उपत्यकाका आङ्गिक क्याम्पसमा उक्त प्रणाली शुरु गरेको त्रिविले यस वर्षदेखि देशभरि नै लागू गरेको छ । सेमेस्टर प्रणाली सञ्चालन भए पनि शैक्षिक क्यालेण्डरअनुसार समयमा पढाइ, परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशित हुने गरेको छैन ।

त्रिविले ‘उच्च शिक्षा सुधार परियोजना’मार्फत सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने भएको हो । कार्यकारी प्रमुख पोखरेलले प्राध्यापकलाई तालीमदेखि भौतिक पूर्वाधारसम्मका लागि हरेक वर्ष सेमेस्टर पढाउने आङ्गिक क्याम्पसलाई एक लाखदेखि १५ लाख रुपैयाँ सम्म उपलब्ध गराउने जानकारी दिए ।

यस्तै त्रिविले सेमेस्टर प्रणाली सञ्चालन गर्ने डीन कार्यालयलाई रु चार लाख, प्रत्येक क्याम्पसलाई एक लाख ५० हजार रुपैया र प्रत्येक कार्यक्रमका लागि पाँच लाख उपलब्ध गराउनेछ । यस्तै विज्ञान सङ्काय पढाउने क्याम्पसलाई प्रतिवर्ष तीन लाख र प्रतिसेमेस्टर १५ लाख उपलब्ध गराउने योजनाका कार्यकारी निर्देशक पोखरेलले जानकारी दिए ।

शुरुमा त्रिविले विसं २०३० मा शुरु गरेको मेस्टर प्रणाली २०३७ सम्म चलेको थियो । उच्च शिक्षा सुधार परियोजना प्रमुख रामचन्द्र पोखरेलले उक्त र प्रणाली सञ्चालन गर्दा कुनै समस्या नआओस् भनेर प्रोत्साहनस्वरुप अनुदान दिएको जानकारी गराए ।    रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.