www.tandavnews.com
Fact ~ In search of truth

‘हेलीकोप्टरले खाइदियो डाँफे’

सन्तोष अधिकारी
पोखरा. ताण्डव न्यूज ।  

कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्राङकी ६५ वर्षकी गुनामाया गुरुङ एक वर्ष पछि दशैँमा गाउँ गइन् ।

आफ्नो छोराहरु पेशा व्यवसायले पोखरा झरे, उनी पनि श्रीमानको शेखपछि पोखरा झरेर तिनै छोराहरुसँग बस्न थालेको पाँच वर्ष भयो । दशैँ भने उनीहरु गाउँमै गएर मान्ने गर्छन । यसपाली उनी गाउँजाँदा सबै राम्रै देखिन तर एउटा कुराले मन खुब पोलेछ ।

Batas

‘गाउँमा सबै ठिकै देख्यो, एउटा कुरा मैले कतै देखेन,’ उनले भनिन्, ‘पहिले विहानै माथी खर्क तिर हिड्दा डाँफेले बाटो काट्थ्यो । एक्लै हिड्दा भूर्ररर गरेर उँड्दा म कति तर्सेँ तर्सँे । अहिले १५ दिन गाउँ बसियो एक दिन न डाफँे करायो न देखियो ।’

पाँच वर्ष पहिले मात्रै पनि गाउँमाथीका फराकिलो चौरमा रहेका गोठको छेवैमा आएर डाँफे कराएको उनले सम्झिईन् । १५ दिन गाउँबस्दा एक घण्टा हिँडेर उमेरको बेलामा गोठालो गएको, खर्क पनि पुगिन । ‘उहिले खर्कमा यता उता हेर्ने वित्तिकै डाँफे, अरु केके चराहरु जनावरहरु देख्थ्यो । अहिले हामी गोठ राखेर बस्ने चौरमा हेलीकोप्टर आएर बस्ने रहेछ । काँ बाट होस् डाँफे । यै हेलीले खाइदिएछ । हेलीकोप्टर अलिअलि कराउने भएपछि यसको आवाजले नै तर्सेर होला कहाँ गयो गयो ।’

उनले बारी लगाएको मकै, साग मृगले आएर खाएको पनि सम्झिईन् । यसपाली उनले डाँफे मात्रै होइन घर छेवैमा आउने मृग पनि देखिनन् । डाँफे, मृग नदेखेपछि उनका मनमा पिर थोपरिएको छ । ‘मेरो नाती पाँच वर्ष भयो,’ उनले भनिन्, ‘यो पहिलो पटक गाउँ आएको । जन्मे देखि नै साह्रै विरामी भयो गाउँ ल्याएकै थिएन । यसलाई यसपाली डाँफे, मृग गाउँमै देखाउने रहर थियो अब फोटोमै हेर्ने भयो ।’

पर्यावरण जोगाउनको लागि गुनमायाँकै घर रहेको अन्नपूर्ण गाउँपालिकाका सबै जनताको प्रस्तावमा गाउँकार्यपालिकाले रेस्क्यूको बेला बाहेक अरुबेला हेलीकोप्टर उड्न नदिने निर्णय ग¥यो । निर्णय अहिले सम्म कार्यान्वयन हुनै सकेन । हेलीकोप्टरवालाहरुको बल मिच्याइँले गर्दा अन्नपूर्ण क्षेत्रमा दैनिक २० भन्दा बढि फ्लाईट भरिरहेका छन् ।

गाउँमा डाँफे नदेख्दा वडा अध्यक्ष पनि दंग परेका रहेछन् । ‘पहिले बाटो–बाटो हुन्थ्यो,’ वडा अध्यक्ष हेम गुरुङले भने, ‘अहिले कतै भेटिन्न । अहिले देखेपनि माथी भेडिगोठ राख्नेहरुले देख्ला गाउँका मान्छेले गाउँमै डाँफे देख्ने दिन सकिएछ ।’

यता गाउँपालिका प्रमुख युवराज कुँवर भने स्थानीयको रोजीरोटी नै खोस्ने गरी हेलीकोप्टर उडान हुन थालेपनि त्यसको प्रतिवाद गरेरै छोड्ने बताउँछन् ।

‘यहाँका जनताको रोजीरोटी, व्यवसाय जे भनेपनि पर्यटन नै हो । यहि हेलीले गर्दा जनवारहरु विस्थापित भइसके,’ कुँवरले भने ‘जनतालाई ढाड सेक्नेगरी भएको उडान विरुद्ध प्रतिवाद गाउँपालिकाले गर्छ, गर्छ । गाउँले आफैँले गरेको निर्णयलाई कसैले चाहेर पनि पेलेर जान सक्दैन ।’

यसअघि यहाँका पर्यटन व्यवसायीहरुले पनि अन्नपूर्ण आधार शिविरमा सिधै हेलीकोप्टर ल्याण्ड हुँदा विश्वमै चर्चित एबिसी पदमार्गको औचित्य समाप्त हुने भन्दै गुनासो गर्दै आइरहेका छन् ।

‘अन्नपूर्ण क्षेत्र पैदलमार्गबाट एक हप्ता लाग्छ, विदेशीहरु पनि त्यही मानसिकताले यहाँ आउँछन्,’ टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले भने ‘विदेशीहरु यहाँ आउँदा लाखौँ खर्च गर्ने हिसाबले आउँछन्, हेलीकोप्टरहरुले आधाघण्टामै बेसक्याम्प पु¥याइदिनाले नेपालमा रहने विदेशीको पैसा समेत बिदेशमै जाने गरेको छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.