www.tandavnews.com
Fact ~ In search of truth

आर्ट मेरो मेडिटेसन

उमा विक
पाेखरा, ताण्डव न्यूज ।

चार महिना अघि बलात्कार पछि हत्या भएकी निर्मला पन्तको न्यायका लागि धेरै समाचार लेखिए,पढिए तर अझैसम्म न्यायले कुनै तुक पाउन सकेको छैन । उनको न्यायको लागि घेरै ठाउँबाट, विभिन्न माध्यमबाट पनि आवाज उठिरहेको छ ।

निर्मलालाई देवीको फ्युजन सहित पोखरा आर्ट ग्यालरीमा उनको आर्ट झुन्डाइएको छ । माइ गडेस लस्ट दि ब्याटल टाइटलमा बनाईएको आर्टले धेरैको ध्यान खिचेको छ । निर्मलालाई आर्टको माध्यमबाट रंगमा पोतेका हुन् सुनिल सिग्देलले ।

Batas

निर्मलाको हत्या काण्डमा सरकार निरिह बनिरहँदा सुनिलले यो आर्टमार्फत सरकारले न्याय दिन नसकेको प्रति व्यंग्य प्रहार गरेका छन् । उनको यो आर्टमा क्रान्ति झल्किन्छ ।

‘मैले यो आर्ट दशँैको बेलामा गरेको हुँ । देवीले असुरमाथि विजय पाएको भन्ने विश्वास सहित हामीले दशैँ मनाउँछौँ,’ आर्ट बनाउने बेलाको स्मरण गर्दै सुनिल भन्छन्, ‘ त्यही देवीले पाएको विजयमा उत्सव मनाउँदै गर्दा अर्की देवीको रुप निर्मलाले असुर माथि जित हाँसिल गर्न सकिनन,उनी पराजित भइन यसलाई मैले आर्ट मार्फत देखाउन मेरो पराजित देवी नाममा यो आर्ट बनाएको हुँ ।’ उनको आर्टमा धेरै फ्युजन पाउन सकिन्छ ।

पोखरा कुडँहरका सुनिल सानै उमेर देखि अनौठा आकृतिहरु खोज्ने गर्दथे । सुनिल सम्झन्छन् , ‘आकाशमा हेरेर बादलमा आकृति खोज्न, अँध्यारोमा देखिने इमेजमा आकृति खोज्न, टुटेको, फुटेको चर्केका, विग्रेका भित्ताहरुमा आकृति खोज्न इन्ट्रेस्ट लाग्थ्यो । त्यही कुराबाट म आर्ट गर्न सक्छु भन्ने आत्मबल बढ्दै गयो ।’

स्कुलको पढाई भ्याएपछि उनले पेन्टिङ सुरु गरेका हुन् । उनको रंग र ब्रससँगको सहकार्य झन्डै २० वर्ष पूरा हुन लाग्यो । उनी यसैमा रमाएका छन् भन्ने कुरा उनको सिर्जनशिल आर्ट ग्यालरी र उज्यालो मुहारमा र्छलङग भेटिन्छ ।

उनी निकै कम बोल्छन् अनि शान्त स्वाभावका छन् । आफ्नो स्वभावको बारेमा उनी भन्छन्, ‘मेरो नेचर नै सोसल प्रोग्राममा वा पब्लिकमा घुलमिल हुन नसक्ने छ । सायद यही नेचरले पनि होला म आर्ट गर्न प्रेरित भए ।’

आर्टमा रुची सानैदेखि थियो उनको । कक्षा ९, १० पढ्ने समयमा आर्ट सिक्ने बढी नै हुटुहटी चल्यो । अमरसिंह माविबाट एसएलसी दिएपछि बाँकी अध्ययनको लागि उनी काठमाण्डौं हानिए । त्यहाँ उनी आर्ट कोर्षमा भर्ना भए । ५ वर्षसम्म आर्टमा अध्ययन गरे । ‘पेन्टिङ आर्ट भन्ने कुरा जति गर्दै गयो त्यति क्रियटिभिटी बढ्दै जाने कुरा हो, ’ उनी भन्छन्, ‘त्यसैले यसैमा लागि परेँ ।’

उनलाई आफूले पहिलो पटक बनाएको चित्र ठ्याक्कै याद छैन् । पछिल्लो समय नयाँ खालको आर्ट भईरहेका छन् । इन्स्टलेसन आर्ट, साउन्ड आर्ट,पर्फमेन्स आर्ट जस्ता नयाँ आर्टको काम भइरहेको उनले सुनाए । ‘म यी तिनवटै विद्यामा बसेर काम गर्छु, ’ उनी भन्छन्, ‘मैले व्यवसायिक रुपमानै आर्टलाई अगाली राखेको छु । आर्टबाट नै मज्जाले आयआर्जन गर्न सकिन्छ । आर्ट पेन्टिङ जस्तो पैसा अन्य कुनै फिल्डमा छैन ।’

आफूले गर्न सके यही फिल्डबाट लाखौंलाख आम्दानी गर्न सकिने उनी बताउँछन् । ‘पैसाको हिसाबले आर्टमा स्कोप राम्रो छ । नाम पनि छ अनि दाम पनि,’ उनी भन्छन् ।

आर्टिष्टको लागि सबै कलर इम्र्पोटेन्ट हुन्छ तर एउटा आर्टिष्टलाई पेन्टिङ गर्दै जादा कलरले इन्स्पायर गर्नुपर्ने उनी सुझाउँछन् । ‘मेरो लागि सबै कलर उत्तिकै इम्र्पाेटेन्ट छ । आर्टमा चुनौती भन्दा पनि अवसर धैरै छ । किनकि हामीले कुनै सरकारी सहायता कुरेर बस्नुपर्दैन,’ उनी भन्छन् ।

नेपालका राम्रा–राम्रा आर्टिस्टले बनाएका आर्ट बाहिर अन्य देशमा गइरहेका छन् । तर हाम्रो देशमा यसको महत्व थाहा नभएको उनी औल्याउँछन् । आर्टहरुलाई हाम्रो देशमा म्युजियम बनाएर राख्न मात्र सक्याँै भने अब आउने पछिल्लो पुस्ताले हेर्न पाउँथ्यो र आर्टको महत्व बुझाउन सकिन्थ्यो भन्ने उनलाई लाग्छ ।

‘हाम्रो बेस तराईको मिथिला,काठमाडौँको पौवा, थान्का, लगायतको आर्ट हो । यी खालका आर्टलाई हामीले विदेशी भुमिमा नेपालीपन झल्काउन बढी प्रयोग गर्छौ,’ उनी भन्छन्, ‘अरु आर्टिष्टले सेल्फ सिकाईको क्रममा आर्ट गरेको हुनाले सामान्य देखिएको होला, मैले आर्टको कोर्ष नै गरेको छु,आर्ट एकखालको मेडिटेशन हो, यो गर्दै जाँदा केही सोसियल, पोलिटिक्स विषयले छुन्छ, त्यसलाई आर्टमा उतार्न खोज्दा मेरो आर्ट अलि कम्प्लेक्स देखिएको हो ।’ आर्ट ग्लोबलाइज भइसकेको हुनाले नेपालमा पनि यसको भविष्य उज्वल रहेको उनी बताउँछन् ।

‘ विदेशी आर्ट र नेपाली आर्टिस्टले बनाएको आर्टमा केही फरक हुदैँन । विदेशी आर्टिष्ट र नेपाली आर्टिष्टमा उत्तिकै आर्ट स्ट्रेन्थ छ,’ उनी भन्छन्, ‘नेपाली आर्टिष्टसँग पैसा छैन तर पर्फमेन्स राम्रो छ ।’

लामो समय पोखरामा बसेर आर्ट पेन्टिङ गरेपनि आफ्नै ठाउँ पोखरामा पहिलो पटक प्रर्दशनीमा राखिएको उनले प्रस्टाए । ‘आर्टको भाषा सिक्नुपर्छ ,सिर्जना अरुले होइन आफूले नै गर्न सक्नुपर्छ,’ उनी थप्छन्, ‘मेरो सानोमा केही लक्ष्य नै थिएन तर मेरो नेचर अनुसार म आर्ट गर्न सक्छु भन्ने लाग्यो र कनेक्सन पनि यसैमा मिल्यो ।’

ललितकला क्याम्पसबाट फाइन आर्टमा स्नातक गरेका सुनिलले नेपाल,भारत,बेलायत ,जापान ,डेनमार्क,बंगलादेश,पाकिस्तान,ताइवान श्रीलंका,हङकङ र दक्षिण कोरियामा एकल तथा सामुहिक चित्रकला प्रर्दशनी गरिसकेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.