www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशको कार्यक्रम : खानामा विभेद !

ताण्डव न्यूज, पाेखरा ः मंगलबार विहान पोखरा स्थित होटल ग्राण्डको मनास्लु हलमा कार्यक्रम सुरु हुनअघि सात बजे देखि आठ बजे सम्म सहभागिहरुले लाइन लाएरै चिया खाजा खाए । मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालय गण्डकी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशभरीका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

जनप्रतिनिधीहरुसँगै उनीहरुका सवारी चालकले पनि खाजा नास्ता खाए । उद्घाटन कार्यक्रम चलिरहँदा होटलकै बाहिर गफिँदै सवारी चालकहरुले १ बजे सम्मको समय काटे । ठिक एक बजे होटलमा खाना खुल्ला भयो । त्यस लगत्तै कार्यक्रम सुरु भयो । विहान ८ बजे चिया खाजा खाएर १ बजे सम्म बसेका चालकहरु पनि खाना खानको लागि कुपन लिन गए । कुपन लिन जाँदा सवारी चालक यूवराज पुनलाई सरकारी कर्मचारीले सोधे ‘तपाइँ कुन गाउँपालिकाको जनप्रतिनिधी ?’ पन्तले जवाफ दिए ‘म सवारी चालक हुँ’ पुनले यति भन्दा नभन्दै ति सरकारी कर्मचारीले ड्राइभरहरुको लागि खाना भित्र छ उता जानुस है भनेर कुपिन थम्याए ।

कुपन लिएर साथीहरुसँगै भित्र छिरेका पुनले छनक बुझिहाले भिआइपी र सवारी चालकको लागि भनेर भिन्दै खानाको ब्यवस्था गरेको । प्रदेश सरकारको आयोजनामा उक्त कार्यक्रममा जनप्रतिनिधीहरुको लागि र सवारी चालकको लागि खाना नै छुट्टै, फरक गुणस्तरको बनाइएको होटलको स्रोतले पनि बतायो । होटलको स्रोतका अनुसार सवारी चालकले खाएको खाना र अन्य जनप्रतिनिधीले खाएको खानामा एक हजार रुपैयाँको अन्तर छ । गुणस्तर पनि उत्तिकै ।
प्रदेश सरकार र स्थानीय सरकार मिलेर आपसमा समझदारी कायम गर्दै अघि बढ्ने, विषयमा छलफल भएको कार्यक्रममै फरक फरक खानाको ब्यवस्था गरिएपछि सवारी चालकहरुले विभिन्न मन्त्रीहरुले नै सुन्नेगरी गुनासो गरे ।
सवारी चालकहरुले पानी पनि धाराबाट थापेर खानु परेको . खाना हातले हालेर खाएको र खाना खाने ठाउँ पनि सफा सुग्घर नभएको भन्दै विरोध गरे । ‘के हाम्रो शरीर शरीर होइन ? भिआइपी मान्छेले खाएको ठाउँमा बसेर, उनीहरुले जे खाए हामीले त्यही खाना हामीले खान हुदैन?,’ पुनले भने, खानकुरामा पनि ठुलो सानो हुन्छ उनले भने, ‘बरु खाना छैन भने हामी अरु ठाउँमा गएर खान्छौ तर यस्तो खत्तम खाना खादैनौँ । भाषण समानताका गर्ने अनि खानमा समेत विभेद गर्ने ?’ अर्का चालक श्रीराम बरालले पनि चित्त दुखाउँदै भने ‘तपाइँ हामीले तिरेको करबाट सरकारले कार्यक्रम आयोजना गरेको छ । यहि कार्यक्रममा हामीले तिरेको करकै पैसाले भिआइपीले खाना खाने अनि हामीले त्यही खाना खान नपाउने ?’
चलकहरुले यस अघि पनि यस्तो समस्या भोगेका रहेछन् । पुनले भने, ‘पटक पटक यस्तै हुँदै आएको छ यो पहिलो घटना हैन हामी चुप लागेको मात्रै थियौँ आज साह्रै नै भएर बोलेका हौँ ।’ मंगलबारको कार्यक्रममा चालकहरुलाई दिइएको खानामा जम्मा चार वटा आइटम थियो भने अन्यले खाने खानाको १३ वटा आइटम थियो ।
त्यसैबीचमा अर्का चालकले भने, ‘खानाको ब्यवस्था छैन भनेको भए हामी बाहिर गएर खान्छौ, यस्तो विभेद गर्न पाइदैन ।’  चालकहरु यहाँ कति पैसा पर्छ थाहा छैन बाहिर दुई सय रुपैँया तिरेर खाना खान नसक्ने हैनौँ भन्दै विरोधमा उत्रिए ।
चालकहरुले चर्कै स्वरमा विरोध गरेपछि गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री तथा प्रवत्ता रामशरण बस्नेतले थमथम्याए । ‘अब यस्तो हुँदै हुँदैन । तपाइँहरु ढुक्क हुनुस् आज बेलुकाबाटै यो भिन्नता पाउनुहुँदैन’ चालकहरुलाई मन्त्री बस्नेतले भने ।
यता गण्डकी प्रदेश प्रमुख सचिव लक्ष्मीराम पौडेलले भने आफुहरुले त्यस्तो नगरेको र होटल ब्यवस्थापनले त्यस्तो गरेको बारे थाहा नभएको भन्दै पन्छिए । ‘अर्डर अनुसारको खानाको ब्यवस्था गरेका हौँ । यस्तो होटलमा हाम्रै सुरले खाना खुवाउने ? सम्भव नहुने कुरा हो’ होटल ग्राण्डका सिनियर सेल्सम्यानेजर कमल शेरचनले भने । उनका अनुसार चालकहरुलाई दाल, भात, अचार र एकथरी मात्र मासु दिनु भन्ने आयोजक मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आदेश थियो ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.