www.tandavnews.com
Fact ~ In search of truth

नेपाल र म्यान्माबीच पहिलो पटक व्यापार र लगानी सम्झौता

काठमाडौँ ।

नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलो पटक आज व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्माका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका थिए।

दुई देशबीच खासगरी खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सम्झौताले बाटो खोलेको छ । दुई देशका उद्योग वाणिज्य महासङ्घबीच विगतदेखि सम्झौता भई व्यापार आदानप्रदान हुँदै आएको छ । ‘एशिया प्रशान्त शिखर सम्मेलन’मा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा काउन्सिलर सु की बिहीबार काठमाडौँ आएकी हुन् ।

वार्तामा सहभागी प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको जानकारी दिए। हाल नेपालमा म्यान्माबाट दाललगायत खाद्यान्न आपूर्ति भएकाले दालको भाउ स्थिर हुन योगदान पुगेको बताइएको छ ।

उनले लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गरिने र नेपालले सन् २०२० का लागि घोषणा गरेको नेपाल पर्यटन वर्षमा म्यान्माबाट पर्यटक वृद्धि गराउन म्यान्माले सहयोग गर्ने समझदारी भएको छ ।

डा भट्टराईले नेपाल सिद्धार्थ गौतमको जन्मस्थल रहेको र म्यान्मा बौद्धमार्गी मुलुक भएकाले पनि दुई देशबीचको भावनात्मकका साथै व्यापारिक सम्बन्ध कायम रहेकाले आगामी दिनमा व्यापार र लगानी वृद्धि हुने बताए । म्यान्माले गौतम बुद्धजन्मस्थल लुम्बिनीमा चैत्य निर्माण गरेको छ ।

प्रधानमन्त्री ओली र सु कीबीच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)लाई थप सक्रिय तुल्याउन दुवै पक्षले काम गर्ने विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा स्टेट काउन्सिलर सु कीले आफूले विगतमा बसेको समयमा भन्दा काठमाडौँमा धेरै परिवर्तन भएको पाएको अनुभव सुनाएकी थिइन् । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.