www.tandavnews.com
Fact ~ In search of truth

प्रजातन्त्रमाथि हुने हस्तक्षेप काङ्ग्रेसलाई सह्य छैन : सभापति देउवा

काठमाडौँ ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताएका छन् ।

इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज काठमाण्डौँमा आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उनले भने “काङ्ग्रेस स्थापनाकाल देखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत रहेको पार्टी हो ।”

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोशिस भइरहेको उल्लेख गर्दै प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताए ।

काङ्ग्रेसकै नेतृत्वमा मुलुकको द्वन्द्व समाधान हुनुका साथै शान्ति प्रक्रिया सफल भएको अवगत गराउँदै उनले काङ्ग्रेसकै नेतृत्वमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको बताए ।

सभापति देउवाले प्रजातान्त्रिक समाजवाद र समावेशीतालाई अङ्गीकार गरेको नयाँ संविधानले प्रजातान्त्रिक मौलिक अधिकारको सुनिश्चितताका साथै राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको बताए ।

कार्यक्रममा पार्टीका उपसभापति विमलेन्द्र निधिले प्रजातन्त्र र मानवाधिकारका लागि दशकौँ लामो सङ्घर्षपछि काङ्ग्रेसकै नेतृत्वमा नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान पाएको बताए । उनले नयाँ संविधान कार्यान्वयनका लागि काङ्ग्रेसकै नेतृत्वको सरकारले तीन तहका निर्वाचन सफलरुपमा सम्पन्न भएको धारणा व्यक्त गरे ।

काङ्ग्रेस महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारले निर्वाचनमा वाचा गरेअनुसार जनतालाई सेवा प्रवाह गर्न नसकेको टिप्पणी गर्दै नेपालमा प्राकृतिक स्रोत साधनको अपार सम्भावना रहेको र मुलुकमा राजनीति स्थायित्व कायम भएकाले अब सबै मिलेर समृद्धितिरको यात्रामा अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।

सह महामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारको नौमहिने अवधि जनताका काममा भन्दा आश्वासन र नारा बाँड्नमा मात्र सीमित रहेको उल्लेख गर्दै सरकार कामभन्दा बढी प्रोपगाण्डामा लागेको आरोप लगाए ।

तरुण दलका पूर्वअध्यक्ष तथा पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणा, इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथका उपाध्यक्ष जस्टिन गलने, महासचिव अना पिर्तसाल्भा, तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, नेविसङ्घका अध्यक्ष नैनसिंह महरलगायतले विश्वमा प्रजातन्त्र स्थापना र संस्थागत गर्न युवाले खेलेको भूमिकामाथि प्रकाश पारे । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.