www.tandavnews.com
Fact ~ In search of truth

बिजुली बलेपछि स्थानियमा खुशी

मुस्ताङ ।

हिमालपारिको जिल्ला मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा केन्द्रीय प्रसारणलाइनको बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

लो घ्येकर दामोदर कुण्ड गाउँपालिकाको २ र ३ नं वडामा पर्ने घमी, साङ्बोचे, घिलिङ र ढाकमरका २सय घरमा उपल्लो मुस्ताङमै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको हो ।

नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र लो घ्येकर दामोदरकुण्ड गाउँपालिकाले भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित उपल्लो मुस्ताङमा विद्युत् विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए।

अध्यक्ष विष्टका अनुसार विद्युतीकरणका लागि गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको थियो । नेपाल विद्युत् प्राधिकरणले ५ सय ५० थान पोल र १५ किलोमिटर प्रसारण लाइनको तार उपलब्ध गराएको हो ।

वडा नं १, ४ र ५ मा पर्ने चराङ्ग, ४ याराघारा, धेताङग्यामा पनि विद्युतीकरणका लागि ८० प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षभित्र विद्युतीकरण गरिसक्ने गाउँपालिकाको योजना छ । यसअघि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने छुसाङसम्म मात्र विद्युत् सुविधा पुगेको थियो ।

उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । विद्युत् सुविधा भएपछि उज्यालोका साथै टिभी हेर्न, कम्प्युटर, ल्यापटप चलाउन, उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको गाउँ कार्यपालिका सदस्य पेमा सेर्तुन विकले बताए ।

मुस्ताङमा विद्युत् वितरण, महसुल सङ्कलन, मर्मत र व्यवस्थापनको काम निलगिरि उपभोक्ता सहकारी संस्थाले गर्दै आएको छ । उपल्लो मुस्ताङको विद्युत् व्यवस्थापन पनि संस्थामार्फत नै गरिने कार्यालय प्रमुख सनप्रसाद थकालीले बताए । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.