www.tandavnews.com
Fact ~ In search of truth

जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदै आँधीखोला गाउँपालिका

माधव भुसाल
स्याङ्जा , ताण्डव न्यूज ।

शुक्रबार स्याङ्जाकाे आँधीखोला गाउँपालिकामा छुट्टै रौनक थियो । सबै वृद्धवृद्धाका अनुहारमा खुसी देखिन्थ्यो । हिँड्नै सकस हुने वुढ्यौलीले छाेएकाहरु पनि लौरो टेक्दै लामो सास लिएर बाटो उक्लदैं थिए ।

आधीँखोला गाउँपालिकाले ‘श्रवणकुमार जेष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लीनिक’ कार्यक्रम सुरुवात गर्ने कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रमकालागि गाउँपालिकाका विभिन्न व्यक्तित्वहरुको उपस्थितीले कार्यक्रम स्थल भरिभराउ थियो ।

Batas

गाउँपालिकाकै योजनामा स्वास्थ्य क्लिनिक कार्यक्रमको सुरुवात भएको हो । यस योजना अन्तर्गत गाउँपालिकाका सबै वडामा स्वास्थ्य कर्मी पुग्नेछन् ।

हरेक वडाका विभिन्न स्थानमा महिनाको एक पटक स्वास्थ्यकर्मी पुगेर जेष्ठ नागरिकको स्वास्थ्य अवस्था जाँच गर्नेछन् । स्वास्थ्य चौकी सम्म पुग्न नसक्ने ७० वर्ष माथीका जेष्ठ नागरिकहरुको स्वास्थ जाँच गरिने गाउँपालिकाले जनाएको छ ।

जाँच गरिसकेपछि उपचार सम्भव भए त्यहि औषधी उपलब्ध गराइनेछ । सम्भव नदेखिए थप उपचारकालागि अस्पतालहरुमा रिफर गरिने जनाइएको छ ।

अघिल्लो वर्ष यस कार्यक्रम वडा नं ६ मा मात्र सुरु गरिएको थियो ।

बोलेका कुरा पुरा गर्न प्रतिबद्ध छौं : सांसद मरासिनि

शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि स्याङ्जा क्षेत्र नं १का प्रतिनिधि सभा सदस्य नारायण मरासिनीले बोलिएका सबै कुरा पुरा गर्नेमा आफु प्रतिबद्ध रहेको जनाए । सरकारको कार्यप्रगति अघि बढिरहेको बताउँदै उनले नागरिक माझ बोलिएका कुरालाई मुर्त रुप दिने बताएका हुन् ।

‘जनताले देखेका सपनाहरुलाई रंगिन रुप दिएर विपनामा परिवर्तन गर्ने कार्य गर्छौ भन्ने जुन प्रतिबद्धता गरेका थियौं । ति प्रतिबद्धताबाट टाढा गएका छैनौं’ उनले सुनाए । पहिलेका वर्ष भन्दा अहिले राजस्व समेत बढी उठेको जनाउँदै उनले सरकारको अर्थतन्त्र ट्रयाकमा गुड्ने विश्वास व्यक्त गरे ।

साथै, गाउँपालिकाले सुरु गरेको गाउँघर क्लिनिक कार्यक्रमको उनले प्रशंसा गरे । कार्यक्रमलाई उदाहरणीय योजना भएको उल्लेख गर्दै थप नागरिक लक्षीत कार्यक्रम सञ्चालन गर्न सुझाए ।

स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाको राम्रो कार्यक्रम : अध्यक्ष पौडेल

आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले शुभारम्भ गरिएको कार्यक्रम स्वास्थ्यको क्षेत्रमा राम्रो कार्यक्रम रहेको बताए । सिमित स्रोतमा कार्यक्रम सुरु गरिएको उल्लेख गर्दै उनले आगामी दिनहरुमा थप सेवासुविधा सहित निरन्तरता दिइने जनाए ।

‘अहिले हामीसँग सिमित स्रोत छ । त्यसकारण पनि अहिले गाउँघरमा महिनामा एक पटक मात्र स्वास्थ्य जाँचको व्यवस्था गरेका हौं । आगामि दिनमा हप्ता हप्तामा सेवा पुग्ने गरि सञ्चालन गर्ने छौं, ’ उनले भने ।

विभिन्न परिस्थितीका कारण गाउँघरमा युवाहरुको संख्या कम भएको प्रसंग उल्लेख गर्दै अध्यक्ष पौडेलले वृद्धवृद्धालाई स्वास्थ्य चौकीसम्म पुग्न असहज भएको उल्लेख गरे । भन्छन् ‘ विभिन्न कामकालागि युवाहरु, छोराछोरीहरु गाउँबाहिर छन् । विरामी भएको अवस्थामा पनि स्वास्थ्य चौकीसम्म पुर्याइदिने कोही हुँदैन । यस कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको स्वास्थ्य कस्तो छ ? भनेर प्रत्येक महिना जाँचिरहन्छौं । सम्भव भए त्यहि औषधी दिन्छौं । नभए थप उपचारकालागि प्रक्रिया अघि बढाउँछौं ।’

गाउँपालिकाको शिक्षा, रोजगारसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु आयोजना गरिएको सुनाउँदै गाउँपालिकाको सम्बृद्धीका लागि सधैं लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे ।

गाउँपालिकाका ९३ वर्षिय एकनारायण देवकोटाको स्वास्थ्य जाँच गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.