www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन र ऊर्जा प्रदेश समृद्धिको मुख्य आधार :मुख्यमन्त्री गुरुङ

बेनी ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई हिजो (शनिबार )म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन ।

नेकपाका प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले गरीबी निवारण, रोजगारीको सम्भावना सिजर्ना गर्दै आर्थिक समृद्धि हासिल गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार भएको बताए ।

Batas

“मुलुकमै पर्यटनको राजधानी पोखरा हो, गण्डकी प्रदेशका हरेक जिल्लामा रहेको पर्यटन विकासको अथाह सम्भावना उजागर गर्न सरकार लागिपरेको छ”, गुरुङले भने ।

गण्डकी प्रदेशभित्र यो वर्ष ३सय पर्यटकीय गाउँमा घरबास सञ्चालन गर्ने योजना रहेको उनले बताए। यहाँका प्राकृतिक, धार्मिक र ऐतिहासिक महत्वको पर्यटन विकाससँगै खेलकूद पर्यटनको विकासका लागि समेत प्रदेश सरकारले गृहकार्य गरिरहेको उनको भनाइ थियो ।

पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गलाई व्यवस्थित बनाउँदै मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको कामलाई पूर्णता दिन सके यस क्षेत्रमा आर्थिक कारोबार ह्वात्तै बढ्ने उनले बताए ।

उनले गण्डकी प्रदेशमा १४ प्रतिशत नागरिक विद्युत् र नौ प्रतिशत नागरिक शुद्ध खानेपानी उपभोगबाट बञ्चित हुनुपरेको बताउँदै त्यसतर्फ प्रदेश सरकारले आवश्यक काम अघि बढाएको जानकारी दिए।

जलस्रोतमार्फत १० हजार मेगावाट बढी र वायु र सौर्य ऊर्जाबाट मुस्ताङमा पाँच हजार मेगावाट बढी विद्युत् उत्पादनको सम्भावना रहेको भन्दै मुख्यमन्त्री गुरुङले हिमाल, पहाड र तराई क्षेत्र समेटिएको गण्डकी प्रदेशलाई विकास र समृद्धिको यात्राबाट रोकिने कुनै कारण नभएको उल्लेख गरे । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.