www.tandavnews.com
Fact ~ In search of truth

चितुवाको आक्रमणबाट १० वर्षीय अमृतको मृत्यु

दमौली ।

चितुवाको आक्रमणबाट तनहुँमा शनिबार (गएराति) एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् ।

चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेर लगेको थियो । छोरा घरभित्र नआएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा घरभन्दा केही तल रहेको खोल्सामा अमृतले लगाएको ज्याकेट भेटिएको थियो । उक्त खोल्साभन्दा तल अमृत घाइते अवस्थामा भेटिएका थिए । उनको घाँटीमा चितुवाको नङग्राले चिथोरेको थियो ।

चितुवाको आक्रमणबाट बालकको ज्यान गएलगत्तै चितुवालाई नियन्त्रण लिन प्रहरी परिचालन गरिएको छ ।

भानुमा चितुवाको त्रास बढ्यो

भानु नगरपालिकामा चितुवाको त्रास बढेको छ । चितुवाको आक्रमणबाट १७ दिनको अवधिमा दुई जनाको ज्यान गएपछि स्थानीयवासी त्रसित भएको स्थानीय भगवान त्रिपाठीले बताए ।

कात्तिक २९ गते चितुवाको आक्रमणबाट भानु नगरपालिका–४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको मृत्यु भएको थियो । उक्त घटना भएको १७औँ दिनको दिन शनिबार राति १० वर्षीय अमृतको समेत चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै मङ्सिर १ गते नै भानु नगरपालिका–२ मा सात वर्षीय सञ्जन नेपालीलाई समेत चितुवाले आक्रमण गरेको थियो । तर नेपाली भने सामान्य घाइते मात्रै भएका थिए । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.