www.tandavnews.com
Fact ~ In search of truth

पहिरोले सिध्याउँदैछ अन्नपूर्ण बेसक्याम्प

सन्तोष अधिकारी
पोखरा, ताण्डव न्यूज ।  

घुम्नका लागि विश्वकै चर्चित मध्येको एक अन्नपूर्ण पदमार्गमा अहिले दिनानु दिन पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।

अन्नपूर्ण सर्किटको पनि अन्नपूर्ण बेसक्याम्प अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइको गन्तव्य हो । कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तरगत पर्ने एबीसी क्याम्पमा सिजनमा दैनिक पाँचसय भन्दा धेरै आन्तरिक र बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । पर्यटकहरु ओहिरो नै लाग्ने एबीसी भने दिनदिनै धरापमा पर्दै गइरहेको छ ।

Batas

‘बेसक्याम्प ग्ल्यासियरको कारणले ध्वस्त हुँदैछ,’ अन्नपूर्ण गाउँपालिकाका प्रमुख यूवराज कुँवरले भने, ‘पहिरोले सबै भासिएको छ । हिउँ हुने ठाउँमा हिउँ छैन । पुरै गेग्रान मात्रै छ ।’ तत्कालै पहिरोको नियन्त्रण गर्न नसके बेसक्याम्प नरहने खतरा पनि रहेको कुँवरको चिन्ता छ ।

२०३५ सालबाट त्यहाँ हिउँ पहिरो जान थालेको स्थानीयलाई उदृत गर्दै कुँवरले बताए । ‘२०३५ सालबाट यहाँ पहिरो जान थालेको रे,’ उनले भने, ‘पहिले मान्छे फड्केर जान मिल्ने ठाउँ अहिले सय मिटर टाढाको दुरीमा पुगिसक्यो । यस्तै हो भने बेस्क्याम्पमा बस्ने, अडिने ठाउँ पनि नरहला भन्ने डर छ ।’

पर्यटनको राजधानी

उनले नेपालमा पर्यटनको राजधानी पोखरा र पोखराको पनि राजधानी अन्नपूर्ण रहेको दाबी गरे । ‘एबीसी घुम्न अहिले वार्षिक दुइलाख ५० हजार मानिस पुग्ने गरेका छन्,’ उनी भन्छन्, ‘गत वर्षको तथ्याङ्क हेर्ने हो भने विदेशी ८५ हजार र अरु सबै नेपाली मात्रै त्यहाँ पुग्ने गरेका छन् ।’

धरापमा बेसक्याम्प

यसरी मानिसहरु दिनानँुदिन यहाँ ओइरिरहने, बेसक्याम्पको संरक्षण र पर्यावरण जोगाउन कसैले ध्यान नदिने हो भने बेसक्याम्प त धरापमा पर्छ नै, यहाँका स्थानीयहरु जोखिममा हुने डर पनि उत्तिकै देखिन्छ । ‘बेसक्याम्प जोगाउन पहिले यहाँको पर्यावरण जोगाउनु पर्नेछ,’ उनले भने, ‘यसका लागि प्रदेश सरकार, संघीय सरकारले पनि सहयोग गर्नुपर्ने हुन्छ । यहाँकै स्थानीय स्रोत र साधनको प्रयोग गरेर जैविक संरक्षणमा हामी लाग्नुपर्छ अनि मात्र यसको संरक्षण हुन्छ । हाम्रो गाउँपालिका यसको संरक्षणमा लागिसकेको छ ।’ हिउँ पहिरो रोक्न चेक ड्याम बनाउनुपर्ने उनको भनाई छ ।

एबीसी पुगेका मुख्यमन्त्री के भन्छन् ?

शनिबार सुटुक्क गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ एबिसी क्याम्प पुगे । उनलाई एबिसी सम्म लाने प्रवन्ध मिलाएका थिए अन्नपूर्ण गाउँपालिका प्रमुख कुँवरले । त्यहाँ पुगेपछि मुख्यमन्त्री दंग परे ।

त्यहाँ गएको पहिरो देखेर गुरुङले गाउँपालिका प्रमुख कुँवरलाई सोधे, ‘यति सुन्दर ठाउँ छ तर, यो डोजर खनेजस्तो के भएको ?’ गाउँपालिका प्रमुखले उत्तर दिए, ‘यहाँ काँबाट डोजर आउनु माननीय ज्यू, यो त पहिरो हो नी यही देखाउन मैले तपाइँलाई यहाँ ल्याएको । यो रोक्न नसके बेसक्याम्प नै धरापमा पर्नेछ ।’

लगत्तै मुख्यमन्त्रीले फेरी भने, ‘यसको संरक्षणका लागि के गर्नुपर्छ प्रदेश सरकार सहयोग गर्न तयार छ ।’

आगो र ग्याँस नबाल्ने योजना

अन्नपूर्ण गाउँपालिकाले तीन हजार उचाइ भन्दा माथिका पर्यटकीय क्षेत्रमा ग्याँस, दाउराबाट आगोबाल्ने कामलाई पूर्ण रुपमा हटाउने योजना समेत अघि सारेको छ ।

‘यहाँको वातावरणीय पर्यावरण जोगाउनको लागि पनि हामीले ग्याँस, दाउराको प्रयोगलाई पूर्ण रुपमा हटाउने योजना बनाएका छौँ,’ गाउँपालिका प्रमुख कुँवरले भने, ‘मुख्यमन्त्री ज्यूलाई पनि भनिसकेका छौँ । हाम्लाई लघुजलविद्युतले भएन केन्द्रीय प्रशारणको लाइन जोड्नु प¥यो भनेर । यसमा उहाँ पनि सकरात्मक हुनुहुन्छ ।’

अन्नपूर्ण गाउँपालिकाका २१ सय मिटर भन्दा माथी बसोबास गर्नेहरुको कसैको लालपुर्जा समेत छैन । सबै सरकारी जग्गा चर्चेर बसेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.