www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा विश्वकै अग्लो सिंगल स्पान पुल : स्काई साइकलिङ, स्वीङ र बञ्जी पनि पुलबाटै

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

अग्ला र लामा झोलुङ्गे पुलका कारण चर्चामा रहेको कालीगण्डकी नदीमाथी बन्दै गरेको विश्वकै अग्लो पैदलयात्री पुल र बन्जिजम्पको निर्माण कार्य धमाधाम भइरहेको छ ।

पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकी माथि निर्माण भएको पुल सहितका संरचना निर्माणको काम अन्तिम चरणमा पुग्दा लगानीकर्ताहरु पनि उत्साहीत देखिन्छन् ।

Batas

विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, विश्वकै अग्लो लठ्ठामा खेलिने पिङ्ग(स्विङ्ग), विश्वकै अग्लो र नेपालकै एक मात्र तारमा खेलिने (स्काई साइक्लिङ) को निर्माण कार्य करिब ८० प्रतिशत काम सकिएको सञ्चालक राजु कार्कीले जनाए । ‘हामी पुल, बञ्जी र रिर्सोट निर्माणको काम ५ महिना सम्ममा सक्छौ,’ उनले भने, ‘हामीले ६ महिना अघि नै सक्ने लक्ष्य राखेका थियौँ, प्रविधी र निर्माण सामाग्री जुटाउँदा अलि समय लाग्यो ।’

कालीगण्डकी माथि ५ सय २० मिटर लामो र २ सय २८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुल विश्वकै अग्लो र साहसिक पैदलयात्री पुल हो ।
कालीगण्डकीको खोंचमा बागलुङको नारायणस्थान र पर्वतको कुश्मा जोड्ने गरी बनाइएको पुल निर्माणका लागि नेपालमा यति लामो लठ्ठा तान्ने प्रविधी र सामाग्री नहुँदा पनि केही समय बढी लागेको सञ्चालक कार्कीले सुनाए ।

मुलुककै अन्य बन्जी स्पटमध्ये नमुना मानिएको यो पुल र बञ्जी २०७३ बैशाखमा निर्माण सुरु भएको थियो । बञ्जी जम्पसँगै पर्यटकहरुलाई थप आकर्षणका लागि स्काइ साइक्लिङ, स्वीङ र रिसोर्ट समेत सञ्चालनको तयारी भइरहेको छ । स्काई साइक्लिङ विश्वकै अग्लो र लामो हो । ‘मकाउमा दुई टावर जोड्न यो भन्दा लामो भएपनि नेचुरल्ली बनाएको यो नै बिश्वकै अग्लो हो,’ कार्कीले भने ।

कुश्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी, सिन्धुपाल्चोकका राजु कार्की, फ्रेन्च नागरिक फ्लोरेन्स र प्रभु बैंकको ऋण लगानीमा बञ्जी जम्प निर्माण भैरहेको हो । १५ करोडमा रिर्सोट सहितका संरचना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बञ्जी जम्पमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा ग्ल्याम्पिङ्ग रिसोर्ट संचालनको लागि संरचना निर्माण काम भइरहेको छ ।

रिर्सोटमा सबै जसो कोठाहरु टेन्टबाट बनाइदै छ । टेण्टबाट सबै बाहिरी दृश्य देखिने गरि निर्माण भइरहेको छ । १० वटा डिलक्स र १० वटा स्टान्र्डड टेण्ट बनाइएको छ । जसमा ६० जना सम्म पर्यटक बस्न सक्छन, खुल्ला चौरमा बस्नका लागि टेण्टहरु राख्ने र त्यसरी ३ सय जना सम्म राख्न सकिने छ । पुलमा तल राखिएका आँखी झ्याल डेकबाट तल हेर्दा आनन्द लिन सकिने भएकाले साहसिक पर्यटन बढ्ने विश्वास कार्कीको छ ।

साहसिक पर्यटनमा रुची राख्ने पर्यटकलाई लक्षित गरि बनाउन थालिएको बन्जिजम्प पर्वतको चिनारी हुने बिश्वास लिइएको छ । सबै संरचना बनि सकेपछि कुस्मा बजार नेपालमै साहसीक पर्यटनको हब बन्ने बिश्वास कार्कीको छ ।

कुस्माबाट बागलुङ्गको मुलाबारी तथा घोरेपानी तर्फ पनि पदयात्रा र हाइकिङ्ग गर्न सकिने गरि प्याकेज बनाउने तयारी सञ्चालकको छ । फेमिली प्याकेज सहित आउने पर्यटकहरुले बञ्जी, स्विङ्ग र स्काई साइक्लिङ तथा हाइकिङ्ग गर्न सकिने ब्यबस्थापन हुने उनको भनाई छ ।

तीन ओटा अग्ला र लामा झोलुङ्गे पुलका कारण पर्यटकहरुको राम्रो साथ पाएको पर्वतले बञ्जि निर्माण भएपछि अझै धेरै पर्यटकहरु पाउने निश्चित छ । संघीयताका कारण सुनसान बनेको पर्वत सदरमुकाम कुश्मामा बिस्तारै चहलपहल भैरहेका कारण होटल तथा पर्यटन व्यवसायीहरु पनि हौसिएका छन ।

सदरमुकाम कुश्मा बजारमै ठूलो होटल संचालन गरिरहेका होटल बेञ्जुका सञ्चालक बिषम श्रेष्ठले बञ्जी जम्प सुरु भएपछि पर्वतका होटल व्यवसाय निकै फस्टाउने अपेक्षा रहेको बताए । लामा तथा अग्ला झोलुंगे पुलहरुमा विदेशी भन्दा पनि आन्तरिक पर्यटकहरुको बढी चाप रहेका कारण बञ्जी जम्प बनेपछि भने आन्तरिकसंगै बाह्य पर्यटकहरुको पनि चाप बढ्ने विश्वास धेरैको छ ।

पर्वतको बञ्जी जम्प नेपालकै नमुना हुने दावी गरिएका कारण अरु ठाउँमा मञ्जी जम्प गर्ने पर्यटकहरु पर्वत तानिन सक्ने पर्वत पर्यटन प्रबद्र्धन केन्द्रका अध्यक्ष शिवप्रसाद पौडेल बताउँछन् । बञ्जी जम्पको निर्माणसँगै ठूला होटल व्यवसायीहरु मात्रै होईन साना होटल चलाउँदै आएका देखि अन्य व्यापार गर्दै आएकाहरुलाई पनि आशा जागेको छ ।

कुश्माको लोकतान्त्रीकचोकमा होटल संचालन गर्दै आएका झलक आचार्य भन्छन, ‘कुश्माको व्यापार सुक्दै गएको थियो । अब बञ्जी जम्प बनेपछि ब्यापार केही फस्टाउँछ की भन्ने आशा लागेको छ ।’

झोलुङ्गे पुल हेर्नका लागि पोखरा हुँदै मुस्ताङ जाने पर्यटकहरु धेरै हुने गरेका छन् । उनीहरुको गन्तव्य भने मुस्ताङ हुने गरेको छ । झोलुङ्गे पुलहरु बाटैमा पर्ने भएकोले थोरै समय मिलाएर उनीहरु पुलहरुको अवलोकनका लागि हाई वे छोडेर बजार छिर्ने गरेका छन् । तर, बञ्जी जम्पको निर्माण पूरा भएपछि पर्यटकहरुको गन्तव्य नै पर्वत बन्ने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.