www.tandavnews.com
Fact ~ In search of truth

निगमलाई कमजोर पार्ने खेलमा नलाग्नुस : मन्त्री अधिकारी

काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताएका छन ।

हेलिकप्टर सोसाइटी अफ नेपालको मङ्गलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ०ले गम्भीर सुरक्षा चासोलाई हटाइ सकेको अवस्थामा आइकाओ मातहतको इयूले नेपाललाई कालोसूचीमै राखि राख्नुपर्ने औचित्य के हो भनी प्रश्न गरे।

उनले भने, “इयूले भने अनुसार पाँच वर्षदेखिको अभ्यास र उसको मापदण्ड अनुसार सुधार गरेका छौँ, हालै इयूका अधिकारी, कूटनीतिक नियोग र उच्चपदस्त अधिकारीसँग पनि कुराकानी गरेको छु, मलाई विश्वास छ छिट्टै नै इयूले नेपालको उड्डयनलाई कालोसूचीबाट हटाउनेछ ।” सन् २०१३ को डिसेम्बरदेखि इयूले नेपाललाई उडान प्रतिबन्ध गर्दै आएको थियो ।

उसले एक साताअघि सार्वजनिक गरेको उडान प्रतिबन्ध हुने देशको सूचीमा नेपालसहित १५ देशलाई समावेश गरेको छ । यी देशका ११५ वायु सेवा प्रदायक कम्पनीले युरोपका आकाशमा उडान भर्न नपाउने प्रतिवेदनमा उल्लेख छ । सन् २०१३ मै आइकाओले सुरक्षा चासो राखेकामा गत वर्ष हटाएको थियो ।

मन्त्री अधिकारीले इयूले हटाएन भनेर बस्ने भन्दा पनि वैकल्पिक उपाय खोजेर नेपाल वायु सेवा निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

निगमका सन्दर्भमा उठेका विषयको छानबिन गरी जनतासमक्ष ल्याइने उल्लेख गर्दै उनले निगमलाई कमजोर पार्ने खेलमा कोही पनि लाग्न नहुने धारणा राखे।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.