म्याग्दी ।
म्याग्दीका एक जनप्रतिनिधिले आफूले पाएको तलब दुर्गम गाउँको विद्यालयलाई सहयोग गरेका छन ।
मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वडा नं ५ अर्मनको सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयलाई सहयोग गरेका हुन् । विद्यालयमा मङ्गलबार आयोजित समारोहमा अध्यक्ष रोकाले तीन लाख ५० हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।
अध्यक्ष रोकाले उपलब्ध गराएको रकम भवन निर्माणका लागि १५ आना जग्गा खरिद गर्दा लागेको ऋण तिरिने प्रध्यानाध्यापक रेशम सापकोटाले बताए । जग्गा किन्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेका सिर्कुमवासीलाई सहयोगले राहत मिलेको प्रध्यानाध्यापक सापकोटाले बताए ।
“चुनावमा सिर्कुमवासीसँग व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयन गरेको हुँ”, अध्यक्ष रोकाले भने। उनले आगामी दिनमा पनि तलबबापत प्राप्त हुने सुविधा समस्यामा परेका सामुदायिक विद्यालयलाई सहयोग गर्ने घोषणा गरे।
शिक्षा विकास तथा समन्वय एकाइको १६ लाख रुपैँया अनुदानमा निर्माण भएको दुईकोठे भवनको उद्घाटनका अवसरमा गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले अध्यक्ष रोकालाई सम्मान गरेकी थिइन् ।
मन्त्री पुनले दुर्गम र ग्रामीण क्षेत्रमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिइन । उनले निजी स्रोतबाट सञ्चालित सामुदायिक विद्यालयको समस्या समाधानका लागि दरबन्दी मिलानको प्रक्रिया अघि बढाएको बताइन् । रासस
सांकेतिक तस्बिर गुगलबाट
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.