www.tandavnews.com
Fact ~ In search of truth

‘गुरुको जुँगा देखेर डर लाग्थ्यो’

पाेखरा
ताण्डव न्यूज । 

मेरो बाल्यकाल अहिले मलाई सम्झिँदा वास्तवमा साह्रै नरमाइलो हिसाबले बितेको जस्तो लाग्छ । त्यस समयमा म एक्ली थिएँ । हाम्रा घर वरपर एक जना बच्चा पनि थिएन, त्यसैले त्यहाँ खेल्ने साथी पनि भएनन् । स्कुल जानको लागि साथी थिएनन् ।

स्कुल निकै टाढा पथ्र्यो । ठूलो हाइस्कुल बिचमा पथ्र्याे अनि एउटा भाषा पाठशाला भन्ने थियो । हाम्रो घरभन्दा पूर्वतिर अर्काे धारु प्रावि हाम्रो घरबाट पश्चिम तिर अलि टाढा, त्यहाँ गुरुङ बस्ति थियो त्यो निकै टाढा हिडेर नै जानु पथ्र्याे ।

Batas

अर्काे भाषा स्कुल पनि दुरी त एउटै–एउटै भएपनि ब्राम्हण बस्ती थियो । अनि हिडेर जानुपर्ने, म निकै सानी थिएँ । ६, ७ वर्षको उमेरमा आमाले मलाई स्कुल भर्ना गरिदिनु भयो । म त्यो गुरुङ बस्तीको स्कुलमा जान चाहन्थे आमाले मलाई अर्को पट्टि भाषा पाठशालामा लगेर भर्ना गरिदिनु भयो । अनि भर्ना गर्ने दिनमा नै त्यहाँ मलाई गुरु देखेपछि डर लाग्यो ।

त्यहाँ गुरु यस्तो हुनुहुन्थ्यो कि, अग्लो अनि उमेर पनि बढी नै पुगिसकेको । लामोलामो जुँगा सेतो फुलेको, कपाल पनि फुलेको सेतो पन्जाबीहरुले लगाउने जस्तो ड्रेस । लामो कासलाई बीचबाट बेरेर लगाएको ड्रेस । म दङ्ग परेँ ।

डर लाग्यो मलाई । डर लाग्यो भन्न पनि भएन । त्यही भएर म स्कुल जान चाहन्नथँे । अनि धेरै जसो स्कुल जाने बेलामा रुने, कराउने गर्थँे । तर आमाले स्कुल जानै पर्छ भनेर कराउनु हुन्थ्यो । घरमा मलाई आमाले नै पढाउनु हुन्थ्यो । कपुरी क, भित्र बाटुली ख, भनेर आमाले पढाउनु हुन्थ्यो । आमाले सिकाएको भएर त्यो त मैले सबै जानेको थिएँ । तर स्कुल त म जानै नमान्ने, कहिले के दुख्यो भन्थेँ कहिले के । तर आमाले पनि के भयो भनेर सोध्नु भएन, मैले पनि गुरु देखेर डराएको भन्ने कुरा रहेन । त्यो कुराको बिचमा नै ग्याप भयो । शिशु कक्षा यसरी नै सकियो ।

सबै कुरो जानेको हुनाले त्यही स्कुलमा कक्षा एकमा भर्ना भएँ । घरमा म एक्लै छोरी थिएँ । हाम्रो घरमा पनि म एक्लै, वरपर बाजेहरुको घर थियो त्यो बाजेहरुको सन्तान नै थिएनन् । बाजे र बज्यै मात्र हुनुहुन्थ्यो । हाम्रो बा पर्ने उहाँको पनि छोराछोरी नै थिएनन् । म एक्लो बच्चाहरु कोही पनि थिएनन् । त्यसैले पनि आमाले कक्षा एकमा पढ्ने भएपछि बल्ल सोध्नु भयो । अनि मैले गुरु देखेर साह्रै डर लाग्छ भन्ने जनाए ।

मलाई त गुरुको जुँगा नै देखेर डर लाग्छ भनेपछि सायद आमाले मैले थाहा नपाउने गरेर गुरुसँग कुरा गर्नुभएको रहेछ । एकदिन गुरु घरमा नै आउनु भएको थियो म डराएर लुकँे । गुरुले मलाई बोलाउनु भयो, के भयो नानी स्कुल आउन डरायौं भन्नुभयो । म तिम्रो राम्रो नाम राखिदिन्छु भनेर स्कुल लिएर जानु भयो । म गुरुसँगै स्कुल गए ।

त्यसपछिका दुईचार दिनसम्म लगातार गुरु घरमा आउनु भयो । गुरुले मलाई अर्काे नाम राधादेवी गुरुङ राखिदिनु भयो । त्यसपछिका दिनहरुमा गुरु हाम्रो घरमा पनि आउने जाने गर्न थाल्नुभयो र मलाई पढाउने गर्दै जाँदा बिस्तारै डर भाग्न थाल्यो ।

तिन कक्षासम्म त्यहाँ पढाइ हुन्थ्यो । यो भाषा स्कुलमा म एक जना मात्र केटी पढ्न जान्थे । त्यसपछि अर्को हाइ स्कुल थियो जहाँ चारबाट मात्र पढाइ हुन्थ्यो । त्यो स्कुलको नाम त्रिसइ हाइ स्कुल हो । जहाँ टाढा– टाढाबाट विद्यार्थीहरु पढ्न आउने गर्थे । चार कक्षामा गएर ए, बी, सी पढ्न सुरु गरेँे ।

म सात कक्षासम्म पढ्दा मेरो क्लासमा एक जना पनि केटी थिएनन् । अहिले पनि मलाई सम्झिँदा एकदम नमज्जा लाग्छ । त्यो समयमा केटाहरुसँग झुम्मिएर कुरा गर्ने चलन पनि थिएन । चुप लागेर बस्ने गरिन्थ्यो केटा÷ केटीलाई छुट्टा छुट्टै राखिन्थ्यो । केटी बसेको छेउमा केटाहरु आएर बोल्दैनथे ।

राम्रो काम गर्न पनि साथी चाहिन्छ र नराम्रो काम गर्न पनि साथी चाहिन्छ । तर, एक्लैले त केही गर्ने कुरै भएन त्यही भएर त्यो बेलामा मैले केही बदमासी काम गर्ने कुरै भएन ।

कक्षा आठबाट त स्कुलमा पनि रमाइलो हुन थाल्यो । हाम्रो स्कुलमा छात्राबास थियो त्यो बेलामा पनि टाढा–टाढाबाट पढ्न आउँथे । पछि आफ्नो ठूलो बुबाका छोराहरु पनि त्यो स्कुलमा भएकाले आठ कक्षा पढ्दाको समय रमाइलो भयो ।

जिन्दगीमा एउटै मात्र बद्मासी भनेपनि जे भनेपनि एउटै मात्र गरेको काम छ । छात्राबासमा बसेको साथीहरुसँग मिलेर भएको नुन खुर्सानी ल्याएर खाने गरिन्थ्यो । नुन खुर्सानी ल्याउँदा त केही गर्दैनथे तर चिनी पनि ल्याउँदा उनीहरु निन्याउरो मुख बनाएर बस्थे ।

मलाई अरु विषय भन्दा संस्कृत पढ्न साह्रै गाह्रो लाग्थ्यो । हामीले कक्षा सातसम्म त संस्कृत पढेका थियाँै । आठबाट पढ्न परेन । त्यसपछि व्यवसायिक स्कुल भएकाले संस्कृत पढ्न नपर्दा खुसी लागेको थियो ।

पढाइमा धेरै अब्बल नभएपनि मैले मिहिनेत धेरै गर्थेँ । त्यही भएर म दोस्रो र तेस्रो स्थानमा सधँै आउने गर्थँे । एसएलसीमा हाम्रो सेन्टर स्याङ्जामा परेको थियो । मैले दोस्रो श्रेणीमा उत्तीर्ण गरेकी हुँ ।

प्रस्तुति : विनिता सुनार

 

यो पनि पढ्नुहोस्

‘गणित सरले कन्चटको रौँ तान्दा पिसाब चुहिन्थ्यो’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.