www.tandavnews.com
Fact ~ In search of truth

पोखरालाई तराईसँग जोड्ने पुल निर्माणमा ढिलाइ

दमौली ।

पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्गको घुमाउनेमा पक्की पुल निर्माणमा ढिलाइ भएको छ ।

दमौली घुमाउनेसम्म केही समयअघि पुल निर्माण गर्न तनहुँ तर्फको भागमा पिलरको जग खन्न शुरु गरिए पनि अहिले भने काम रोकिएको छ । पुल निर्माणको काम अगाडि बढाउन तनहँुतर्फको भागमा कुनै समस्या नभए पनि चितवनतर्फको भागमा समस्या देखिएकाले पुल निर्माणमा ढिलाइ भएको हो ।

मुग्लिङ–नारायणगढ सडक आयोजनाले घुमाउनेमा पुल निर्माण गर्दा सडक भासिन सक्ने भन्दै अवरोध गरेपछि पुल निर्माण काम अवरुद्ध भएको डिभिजन सडक कार्यालय तनहुँका प्रमुख विष्णु काफ्लेले बताउनुभयो । उनले भने, “आयोजनाले पुल निर्माण क्रममा सडक भासिने भन्दै चितवनतर्फको भागमा जग खन्न रोक लगाएको छ ।”

एक सय पाँच मिटर लम्बाइको उक्त ‘आर्क ब्रिज’ सडक विभागको पुल महाशाखाले आठ करोड २६ लाखको लागतमा निर्माण गर्न लागेको हो । पुल निर्माण गर्न हेटौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।मुग्लिङ नारायणगढ सडक आयोजनाले अवरोध नगरेको भए यतिबेलासम्म पुलको काम धेरै नै अगाडि बढिसक्ने काफ्लेले जानकारी दिए । पुलका कारण मुग्लिङ नारायणगढ सडकलाई कुनै क्षति पुग्दैन भन्ने विश्वास दिलाएपछि काम शुरु हुने उनले बताए ।

उनले भने, “पुल निर्माणले सडकलाई कुनै क्षति पुग्दैन भन्ने प्रत्याभूति दिलाउन ठेकेदारलाई पत्राचार गरिएको छ । यदि सडकमा कुनै क्षति भएमा क्षतिपूर्ति दिएर पनि काम अगाडि बढाउनुपर्छ ।” उक्त पुलको निर्माणपछि नारायणगढ जान पोखरा, बाग्लुङ, पर्वत, बेनी, स्याङजा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्दैन । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । दोहोरो लेनको पुलमा ७।५ मिटर गाडी हिँड्ने भाग रहनेछ ।

अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस चलेका छन् । तर पुल नहुँदा ती सवारी नारायणगढ–मुग्लिन सडकखण्डसम्म पुग्न सक्दैनन् । दमौलीदेखि घुमाउनेसम्म ३२ किमी दुरी छ । सामान्य ग्राभेल अवस्थामा रहेको यस मार्गको स्तरोन्नतिको काम भइरहेको छ । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.