www.tandavnews.com
Fact ~ In search of truth

पोखरा कारागार पुगेर विगत सम्झिए राष्ट्रिय सभाध्यक्ष तिमिल्सीनाले

पोखरा
ताण्डव न्यूज । 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना तीन दशक अघि जेलमा बसेको कोठामा पुगेर निरिक्षण गरेका छन् । शनिबार पोखरा कारागारको निरिक्षण गर्ने क्रममा उनले २०४२ सालमा जेल पर्दा त्यस जेलमा गरेका गतिविधिहरु पनि सम्झिए ।

सरकारको विरुद्धमा बोलेको आरोपमा पहिलो पटक २०४२ सालमा पक्राउ परेका उनलाई पोखरा कारागारमा ल्याएर राखिएको थियो । कारागारको स्वरुप, रंगरोगन फेरिएकोले उनलाई आफु बसेको कोठा ठम्याउन गाह्रो प¥यो । तर, कारागारको ‘क’ ब्लकका नाइके अनुप गुरुङले चिनाइदिए ।

Batas

अध्यक्ष तिमिल्सीनालाइ देखाउँदै नाइके गुरुङले भने, ‘तपाइँहरु बसेको कोठा यो हो, यहाँ केपी ओली पनि बस्नु भएको । केही समय अघि सम्म प्रधानमन्त्री ज्यूले यहि जेलमा बसेर लेखेको कविता यहीँ थियो ।’

यति सुनेपछि तिमिल्सीनाले पुराना दिनहरु सम्झिए र भने, ‘ए हो पहिले यस्तो थिएन । हामी यहाँ बस्दा गाह्रो थियो । साँघुरो, जेलमा बस्नेहरुले गरेको पिसाब हामी बस्ने कोठा अगाडी जम्मा हुन्थ्यो । हामी बोत्तले उबाउँदै तरकारीमा लगेर हाल्थ्यौँ ।’ उनले आफु जेल परेको ताकाको मान्छे कोही छ की भनेर समेत सोधे । कोही रहेनछन् ।

पहिलो पटक २०४२ सालमा जेल परेका उनलाई छ महिना मात्रै त्यहाँ राखिएको रहेछ । त्यहाँबाट सिधै बिरगंज पठाइएछ । फेरी २०४४ सालमा पोखरा कारागारमा नै फर्काइयो । फर्काएर ल्याउँदा पनि उनी सोही कोठामा बस्न पाए । सबै तिर गरेर चार वर्ष जेलजिवन विताएका तिमिल्सीनाले १४ महिना पोखरा कारागारमा नै विताएका थिए ।

कारागार निरिक्षणको क्रममा उनले महिला कैदीबन्दी, बृद्धबृद्धा, यूवा, यूवती सबैलाई भेटे गुनासो सुने । एक महिला कैदी बन्दीले मलाइ एउटा कुरा भन्नु छ भनेर भनिन्, ‘हामीलाई जाँच गर्ने नर्स चाहियो । भएका पुरुष छन् । पुरुषलाई हामीले हाम्रो पिडा व्यथा सबै भन्न सकेनौँ ।’

कारागारका निमित्त जेलर विष्णु प्रसाद सुबेदीका अनुसार यहाँ एक जना मात्रै स्वास्थ्यकर्मी छन् । दुई सय २५० हाराहारी कैदी बन्दी क्षमता रहेका उक्त कारागारमा ७५८ जना कैदी बन्दिहरु छन् । यि मध्ये १३ जना विदेशी कैदीहरु छन् ।

उनले कारागार सुधार गर्नका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने समेत बताए । उनले कैदीबन्दीका लागि चाउचाउ विस्कुट समेत ल्याएर वितरण गरे । कारागार भित्र निरिक्षणको क्रममा उनले शौचालय, खानेबस्ने ठाउँ, स्वास्थ्य उपचार, आफन्तसँगको भेटघाटमा सहज भए नभएको बारे जानकारी लिए ।

कारागारमा कैदीहरु कोही मुडा बुन्दै कोही तान लगाएर भांग्रा बुन्दै, कोही कारागार भित्रै चटपट बनाउने, कोही पसलमा सामान बेच्दै गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.