www.tandavnews.com
Fact ~ In search of truth

दुर्घटनाकाे मुख्य कारण चालकको लापर्वाही

अच्युत रेग्मी
काठमाडौँ ।

चालू आर्थिक वर्षको चार महीनामा मुलुकभर भएको सवारी दुर्घटनामा परी ८६५ को ज्यान गएको छ ।

साँघुरो सडक र तीव्र गतिका कारण देशभर दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको हो । प्रहरीका अनुसार चार महीनामा सात हजार २३७ दुर्घटना भएका थिए । उक्त दुर्घटनाबाट साउनमा १९२, भदौमा २०५, असोजमा २८५ र कात्तिकमा २९८ को ज्यान गएको छ । आव २०७४÷०७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ ले ज्यान गुमाएका थिए ।

Batas

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले चालकको लापर्वाहीका कारण धेरै दुर्घटना हुने गरेको बताउछन्  । “चालकको लापर्वाही, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, यात्रुको गल्ती, एकापसमा उछिन्ने प्रवृत्ति, तीव्रगति, यान्त्रिक गडबडीका कारण बढी दुर्घटना हुने गरेको छ”, उनी थप्छन् ।

सवारी दुर्घटनाबाट ६२२ पुरुष, १५७ महिला, ५३ बालक र ३३ बालिकाले ज्यान गुमाएका छन् । मोटरसाइकल, ट्रक, टिपर, जीप, कार ट्रयाक्टर र टेम्पो बढी दुर्घटना हुने गरेका छन् ।

सोही अवधिमा दुर्घटनामा एक हजार ४८८ गम्भीर र तीन हजार ७२७ सामान्य घाइते भएका थिए । लामो समयदेखि मुलुकको यातायात क्षेत्रमा रहेर काम गरेका नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको बताउछन्।

उनले २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापर्वाहीका कारण हुने गरेको बताए । श्रेष्ठ तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउने बताउछन्  ।

“मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा २० देखि २५ प्रतिशतसम्म दुर्घटना हुने गरेको छ”, उनी भन्छन् । काठमाडौँ उपत्यकामा हाल साना ठूला ११ लाख तथा देशभर झण्डै ३२ लाख सवारी साधन सञ्चालनमा रहेका छन् । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.