www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीको खोप्रामा सामुदायिक लज बनाइने

 

गलेश्वर ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको पर्यटकीयस्थल खोप्रा लेकमा थप चारवटा सामुदायिक लज बनाइने भएको छ ।

पहाडकी अप्सरा (परी)को नामले परिचित कठिन पहाडी भूगोलको शिरमा अवस्थित खोप्रा लेकमा पछिल्लो समय ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि स्थानीय बासिन्दाहरु खोप्रामा पूर्वाधार निर्माण गर्न कस्सिएका हुन् ।

गत सोमबार खोप्राको प्रवेशद्वार मानिने पाउद्वार गाउँमा बागवीर पाइजाको अध्यक्षतामा बसेको एक्यापका प्रमुख विदुर कुइँकेल र स्थानीय अगुवाको बैठकले एकवटा मात्र सामुदायिक लज भएको खोप्रामा थप चारवटा नयाँ सामुदायिक लज बनाउने निर्णय गरेको एक्यापका सदस्य तथा खोप्रा सामुदायिक लजका कोषाध्यक्ष भीम पुनले जानकारी दिए ।

उहाँका अनुसार बैठकले बयलीमा थप एक, डाँडाखर्कमा एक र आलखर्कमा थप दुईवटा सामुदायिक लज निर्माण गर्ने निर्णय गरेको छ । “सामुदायिक लज थप गर्न स्थानीयवासीको पहिलेदेखि नै माग थियो तर पर्यटकको आगमन कम भएकाले हामीले थप गर्ने अनुमति दिएका थिएनौँ,” एक्यापका सदस्य पुनले भने । खोप्रा लेकमा पुगेका आन्तरिक तथा बाह्य पर्यटकले एउटा मात्र सामुदायिक लजमा ठाउँ नपाएपछि टेण्ट लगाएर बाहिर बस्नु परेको गुनासो गरेका छन् ।

त्यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटकको गुनासो आउन थालेपछि स्थानीयवासीले आफ्नै लगानीमा थप चारवटा सामुदायिक लज विस्तार गर्ने निर्णय गरेका हुन् । पछिल्लो समयमा खोप्रा बयली, डाँडाखर्कमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । रासस

सांकेतिक तस्बिर:गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.