www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल बन्दैँ

बलेवा ।

लामो समयदेखि चर्चामा रहेपनि प्राविधिक कारणले निर्माण हुन नसकेको बागलुङ सदरमुकामको बाङ्गेचौरदेखि पर्वतको पाङ जोड्ने अग्लो झोलुङ्गे पुल बनाइने भएको छ ।

अर्थ मन्त्रालयले पुल निर्माणका लागि बजेट दिने सहमति दिएपछि बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिका जोड्ने गरी मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल निर्माण हुने निश्चित भएको हो ।अर्थ मन्त्रालयले पुल निर्माणका लागि आवश्यक पुल निर्माण प्रविधि खरीदका लागि सहमति दिएपछि पुल निर्माणको सहमति दिएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने गरी निर्माण गर्न लागिएको ५६७ मिटर लामो र १६० मिटर अग्लो पुल बन्ने छ ।सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख कुमार थापाले पुल बनाउनका लागि काम अगाडि बढेको जानकारी दिए । २०५९ सालदेखि पुल निर्माणको चर्चा चले पनि लामो दुरी भएकाले लठ्ठा तान्न समस्या हुने भन्दै अध्ययन प्रक्रियामै रोकिएको थियो ।

बागलुङ नगरपालिकाको पहलमा तीन महीना अगाडि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले पुनः सर्वेक्षण गरी पुल निर्माणमा आवश्यक लठ्ठा तान्ने मेसिन खरीदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो ।अर्थ मन्त्रालयले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरीद गर्न४० लाख बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया शुरु भएको प्रमुख थापाले बताए ।

‘‘हामीले यही पुल निर्माण गर्ने भनेरै लठ्ठा तान्ने मेसिन खरीदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेका थियौं, अर्थ मन्त्रालयले बजेट स्वीकृतपछि मेसिन खरीद र निर्माणको प्रक्रिया एकसाथ अगाडि बढाउँने सोंच बनाएका छौँ’’ थापाले भने ।शुरुमा सर्वेक्षण गर्दा ५४५ मिटर लामो हुने भनिएको उक्त पुल पुनः सर्वेक्षण गर्दा ५ सय ६७ मिटर लामो हुने भएपछि पुलको लम्बाइ, लठ्ठा तथा अन्य भौतिक संरचनाका बारेमा डिपिआर परिवर्तन गरेर अगाडि बढ्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

२०५९ सालमा पाँच करोड ८४ लाख रुपैँया लागत अनुमान गरिएको उक्त पुल निर्माणका लागि करीब १० करोड खर्च हुने सस्पेन्न ब्रिज डिभिजन कार्यालयका इञ्जिनीयर बैकुण्ठ अर्यालले जानकारी दिए।बागलुङ बजारदेखि नजिकै देखिने पाङको अदुवाबारीसम्म पुग्नका लागि ठूलो खोँच पार गरेर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिए।

बागलुङ बजारसँग व्यवसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका केही वडा र जलजला गाउँपालिकाका केही वडावासी लगायतका जनताका लागि सहज पुहुँच पुग्नेगरी पुल निर्माणका लागि केन्द्र सरकारलाई यस अगाडिनै दबाब दिइरहेको थियो ।

कालीगण्डकी नदी माथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडक खण्डको ठीक माथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने अनुमान गरिएको छ ।  रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.