www.tandavnews.com
Fact ~ In search of truth

प्रथम चापाकोट महोत्सव मङ्सिर २८ देखि

 

वालिङ ।

स्याङ्जाको दक्षिणी भेगमा रहेको चापाकोटमा यही मङ्सिर २८ गतेदेखि प्रथम चापाकोट महोत्सव हुने भएको छ ।

चापाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवको तयारी पूरा भएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं चापाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष मणिप्रसाद खनालले बताए ।

“स्याङ्जाको दक्षिणी भेगमा कालीगण्डकीको किनारमा रहेको समथर भूभाग चापाकोट धार्मिक, ऐतिहासिक, पर्यटकीय एवं कृषि उत्पादनका दृष्टिले पनि जिल्लाकै महत्वपूर्ण क्षेत्र हो” महोत्सव मूल आयोजक समितिका संयोजक खनालले भने, “यस क्षेत्रमा रहेका सम्भावनाको खोजी गर्ने र यसको विकासका लागि सहयोग पुर्याउनुका साथै चापाकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेका हौँ ।”

महोत्सवमा स्थानीय उत्पादनसँग जोडिएका कृषि, पशु, हस्तकला, कुमाल समुदायको लोपोन्मुख अवस्थामा रहेका माटाका भाँडा तथा स्थानीय कला, संस्कृतिको प्रचारप्रसार, स्थानीय खानाका परिकारलाई प्राथमिकताका साथ महोत्सव अवधिमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।कूल २ सय २० वटा विभिन्न प्रकृतिका स्टल मेलामा रहने छन् । मङ्सिर २८ देखि पुस ८ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि विभिन्न ४० उपसमिति निर्माण गरी तयारी गरिएको छ ।

महोत्सव अवधिभर कुल ८० लाख रुपैँया आर्थिक सङ्कलन गर्ने, ६० लाख खर्च हुने र २० लाख बचत हुने प्रारम्भिक अनुमान रहेको मेला आयोजक समितिका संयोजक खनालले बताए । बचत रकमबाट चापाकोट उद्योग वाणिज्य सङ्घको कार्यालय भवनको शुरुआत गर्ने र व्यापारीको हितमा प्रयोग गर्नका लागि कोष स्थापना गर्ने निर्णय भएको चापाकोट उद्योग वाणिज्य सङ्घले जनाएको छ ।  रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.