www.tandavnews.com
Fact ~ In search of truth

धर्मनिरपेक्षताको नाममा धर्म परिवर्तन मौलायो –पूर्वराष्ट्रपति यादव

hima aus

काठमाडौँ ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवाद’ को आज विमोचन गर्दै उनले काङ्ग्रेसको विचार र सिद्धान्तअनुसारको संविधान जारी भएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा काङ्ग्रेस नै बढी जिम्मेवार हुनुपर्ने बताए ।

उनले संविधानमा धर्म निरपेक्षताको व्यवस्था भए पनि मुलुकका विभिन्न भागमा धर्म परिवर्तनको क्रम तीव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गर्नुभएकोे लोकतान्त्रिक समाजवाद आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै पूर्वराष्ट्रपति डा यादवले पार्टी भित्र गुटउपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिए । विकास निर्माणका ठूला पूर्वाधारले तराई र चुरे क्षेत्रको वन विनाश हुँदा भूक्षय र मरुभूमिकरण बढ्दै गएको भन्दै यसलाई संरक्षण गर्न ध्यान दिनुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले काङ्ग्रेस र कम्युनिष्टको समाजवादका सम्बन्धमा देखिएको विवाद र बहसको सन्दर्भमा आफूले पुस्तकमा काङ्ग्रेसको लोकतान्त्रिक समाजवादका सम्बन्धमा स्पष्ट पारेको बताए । विश्वमा राजनीतिक विचारधारा कमजोर भयो भने समाजमा अराजकता र विचलन हुने भन्दै उनले विचारकै प्रधानता हुनुपर्ने बताए । काङ्ग्रेसमा विचारको खडेरी नभई बहसको आवश्यकता रहेको उनको जोड थियो ।
काङ्ग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले काङ्ग्रेसले भनेको समाजवाद लोकतान्त्रिक पद्धतिबाट प्राप्त हुने र कम्युनिष्टले चाहेको समाजवाद वर्ग सङ्घर्षबाट प्राप्त हुने बताउँदै काङ्ग्रेसले अवलम्बन गरेको लोकतान्त्रिक समाजवाद, उदार अर्थनीति, लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्ट दलहरु आउनु खुशीको कुरा हो भने।

नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि काङ्ग्रेस नेतृत्वका सरकारले अवलम्बन गरेका नीतिबाट नै शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, व्यापारलगायत क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको उनले जानकारी गराए । केन्द्रीय सदस्य प्रदीप गिरीले ग्रामीण क्षेत्रका निमुखा जनताको हितमा काम गर्न गान्धी, माओ र बिपीका विचारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै जनतालाई समावेश नगरी गरिने विकास दिगो र प्रभावकारी नहुने बताए ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
covid 19 tandav