www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा २५ करोडको सुन्तला उत्पादन हुने

दमौली,  (रासस) 

तनहुँमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो ।

कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट १८ करोडको सुन्तला उत्पादन भएकामा यस वर्ष २५ करोड बराबरको सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको जानकारी दिए ।

अघिल्लो वर्ष छ हजार ५२६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष छ हजार ९३८ मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । तनहुँमा यस वर्ष एक हजार २८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । तनहुँमा उत्पादित सुन्तला पोखरा, काठमाडौँ, चितवनलगायतका ठाउँमा निर्यात हुँदै आएको छ ।

तनहुँको राइपुर, वैदी, छिपछिपे, तनहुँसुर, बेनीकोट, बन्दीपुर, घाँसीकुवा, नाम्सीकोट, भानुमतिलगायत सुन्तला खेतीको पकेट क्षेत्र हुन् । तनहुँको म्याग्दे गाउँपालिका–२ का विश्वबहादुर अधिकारी र निर्मल अधिकारीले यस वर्ष सुन्तला बेचेर रु ५५ लाख आम्दनी गरेका छन् । संयुक्त रूपमा सुन्तला खेती गर्दैै आउनुभएका उनले यस वर्ष जिल्लामै सबैभन्दा बढी सुन्तला बिक्री गरेका थिए ।

सोही ठाउँका शुकनारायण श्रेष्ठले पनि यस वर्ष रु ३१ लाखको सुन्तला बिक्री गरेका छन् । भीमाद नगरपालिका–९ का अध्यक्ष इमानसिंह थापाले भानुमतिबाट यस वर्ष दुई करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको जानकारी दिए ।

व्यास नगरपालिका–११ तनहुँसुरमा रु ५० देखि ६० लाखसम्मको सुन्तला उत्पादन हुने अनुमान गरिएको कृषि शाखाका प्राविधिक विश्वराज वाग्लेले बताए । उनका अनुसार व्यास नगरपालिका–१३ वेनीकोटबाट समेत रु एक करोड ५० लाखको सुन्तला उत्पादन हुने लक्ष्य छ ।

देवघाट गाउँपालिकामा भने यस वर्ष सुन्तला उत्पादनमा कमी आउने अनुमान गरिएको छ । गाउँपालिकाका कृषि शाखाका प्राविधिक आनन्दराज घिमिरेले असिना र खडेरीको कारण सुन्तला उत्पादन कमी हुनसक्ने बताए । उनका अनुसार गत वर्ष गाउँपालिकाबाट दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको थियो ।

Lama collectio News Middle

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery