www.tandavnews.com
Fact ~ In search of truth

तीन सडकलाई चार करोड बजेट

बागलुङ, रासस

बागलुङ जिल्लाका तीन रणनीतिक सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । जिल्ला सदरमुकामलाई दक्षिण क्षेत्रसँग जोड्ने बागलुङ कुश्मीशेरा, बरेङ शान्तिपुर सडकको लागि दुई करोड बजेट विनियोजन भएकोे क्षेत्र नं १ का सांसद डा सूर्य पाठकले बताए ।

काठेखोला गाउँपालिकाको बिहुँ अछेतेदेखि म्याग्दीको सिमसम्मको सडकका लागि एक करोड रुपैयाँ र बागलुङ, चापाखर्क, बरेङ सडकखण्डको लागि एक करोड रुपैयाँ विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ । तीनवटै सडकको स्तरोन्नतिका लागि विनियोजन भएको बजेटलाई तत्काल कार्यान्वयनमा ल्याउन पहल थालिएको प्रतिनिधिसभा सदस्य पाठकले जानकारी दिए ।

एउटा क्षेत्रमा दुई बाटोमा रकम विनियोजन हुँदै आए पनि जनताको मागअनुसार तीन वटा सडकमा रकम छुट्याइएको बताइएको छ । तीनवटै सडक सर्वसाधारणको प्रत्यक्ष जनजीविकासँग जोडिएका सडक भएकाले बहुवर्षे योजना बनाएर स्तरोन्नतिको काम थाल्ने पाठकले बताए ।

जिल्लाको क्षेत्र नं १ मा पर्ने तिनै सडकको स्तरोन्नतिको लागि अर्थ मन्त्रालयले छुट्याएको बजेटको विषयमा जानकारी आएको भए पनि क्षेत्र नं २ का रणनीतिक सडकको विषयमा भने कुनै जानकारी बाहिर आएको छैन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.