www.tandavnews.com
Fact ~ In search of truth

डहरेमा ‘ओपन जु’ बन्दैँ

संजय रेग्मी
पर्वत /ताण्डव न्यूज ।

पर्यटन प्रबद्र्धन गर्न र नगर क्षेत्रको पहिचान झल्काउन पर्वतको फलेवास नगरपालिकाले पर्यटकीय सम्भावना रहेको डहरे देउराली क्षेत्रमा खुल्ला चिडियाखाना बनाउने भएको छ ।

घना जंगल रहेको डहरे लेकमा खुल्ला रूपमा जंगली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भैरहेको नगर प्रमुख पद्यमपाणी शर्माले जानकारी दिए । उनका अनुसार नगर विकासको दीर्घकालीन योजना बनाएर डहरे क्षेत्रमा खुल्ला चिडियाखाना ‘ओपन जु’ को अवधारणा ल्याइएको हो । समुद्री सतहबाट २२ सय ५९ मिटरको उचाइमा रहेको डहरे देउरालीलाई चिडियाखाना बनाउन नगरपालिकाले चालु वर्षदेखि नै वजेटको व्यवस्था गरेको छ ।

नगरप्रमुख पदमपाणी शर्माका अनुसार यो अवधारणा मुलुकमै पहिलो हो । ‘तारबारले घेरिएका चिडियाखाना हामीले जहाँकहीं देखेका छौं ।,’ उनले भने, ‘वन्यजन्तुलाई खुल्ला रूपमा संरक्षण गरेर अवलोकन गर्नसक्ने चिडियाखाना हाम्रो नयाँ अवधारणा हो ।’ स्थानीय जंगलमा पाइने जनावरको संरक्षण गरी पदयात्रीलाई सहजै जनावरको अवलोकन गर्ने गरी व्यवस्था मिलाइने उनले बताए ।

डहरेमा दुईतर्फ चुच्चो परेका पहाडका टापुले त्यहाँको सौन्दर्यमा थप निखार ल्याएका छन। करिब दुई सय मिटर अग्ला पहाडका दुईतर्फ आपसमा ठडिएका टापु पर्वतकै नमुना पहाड हुन् ।स्याङ्जाको केही भागसँग जोडिएको डहरेमा फलेवास नगरपालिकाको १, २ र ९ वडामा फैलिएको घना जंगल छ । डहरे लेकमा कालो भालु, चितुवा, मृग, ब्वाँसो लगायत जंगली जनावर पाइने स्थानीय बताउँछन् । त्यस्तै कालिज, लामपुच्छ्रे, लुइँचे, चित्रा, ढुकुर लगायत चराचुरुंगी पनि पाइन्छन् ।

गुराँसले ढाकिएको डहरे क्षेत्रमा पुग्ने पर्यटक मनोरम प्राकृतिक सुन्दरतामा रमाउने गरेका छन् । वन्यजन्तु संरक्षण, वन क्षेत्र संरक्षण, प्याराग्लाइडिङ उडान, डहरे देउराली मन्दिरको प्रवद्र्धन लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना नगरपालिकाको छ । फलेवास नगरपालिकाले यसै क्षेत्रलाई समेटेर मनमोहन शान्ति बाटिका निर्माणको काम सुरु गरिरहेको छ । डहरे क्षेत्रबाट नै प्याराग्लाइडिङ उडान गर्ने गरी सम्भाव्यता अध्ययन समेत भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले बताए ।

खुल्ला चिडियाखाना अन्तरगत डहरेको मुख्यमुख्य जंगलमा पदमार्ग बनाउने, ठाउँठाउँमा वन्यजन्तुका लागि पानीपोखरी निर्माण गर्ने योजना छ । त्यो बाहेक पहाडको टुप्पामा भ्युटावर बनाएर दूरबिनबाट वन्यजन्तुको अवलोकनसँगै प्राकृतिक छटाको सहज अवलोकन गर्ने व्यवस्था गर्न थालिएको छ ।

डहरे क्षेत्रमै पर्ने फलेवास २ खुमगाउँमा ५० घरमा होमस्टे सञ्चालन भइसकेको छ । डहरे पुग्न नेपालकै पहिलो होमस्टे गाउँ स्याङ्जाको सिरुबारीबाट दुई घण्टा पैदल यात्रा गर्नुपर्छ । पर्वतको कार्कीनेटा हुँदै जाँदा कार्कीनेटासम्म गाडीको यात्रापछि १ घण्टा पदयात्रामा पनि पुग्न सकिन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.