www.tandavnews.com
Fact ~ In search of truth

भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

 

धादिङ ।
थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए । केहीबेरको घाम तापेपछि उनी किताब बोकेर खाली खुट्टै विद्यालय निस्कन्छन् ।

दक्षिणी धादिङको बेनीघाटरोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालय कक्षा १ मा अध्ययनका लागि जाने उनी हुन् ६ वर्षीय सिद्धिबहादुर चेपाङ । बिहान गाउँको बाटो हुँदै विद्यालय जान्छन् । अरु विद्यार्थी आउनुभन्दा अलि पहिला नै विद्यालय पुग्ने सिद्धिबहादुर विद्यालय पुग्ने बित्तिकै दिउँसो खाजा बनाउने ठाउँमा हेर्न पुग्छन् । अघिल्लो दिनको मकै वा चिउरा पोखिएको भेटिए टिपेर खान्छन् । अनि त्यतै वरिपरि घुम्छन् । विद्यालयको पढाइ शुरु हुन्छ । उनी पनि त्यतै सामेल हुन्छन् ।

कक्षाकोठामा उनी पस्छन् । अरु पनि सँगै हुन्छन् । कक्षामा पढाउने शिक्षक आउनुहुन्छ । पढाएर जानुहुन्छ तर सिद्धिबहादुरलाई कसले के भनेको हो केही थाहा हुँदैन । कोहीसँग नबोल्ने र पढाएको लेख्नसमेत नआउने भएपछि शिक्षकले समेत चासो दिए । उनी त बहिरा पो रहेछन् । अन्य विद्यार्थी पढाएजस्तो पढाउँदा उसले नबुझ्ने भएपछि खाजा खानको लागि मात्र विद्यालय आएजस्तो भएको छ विद्यालयका प्रधानाध्यापक बुद्धिमाया तामाङ भन्छन्।

कक्षा ३ सम्म पढाइ हुने यो विद्यालयमा बहिरा विद्यार्थी उनी मात्र होइनन् । कक्षा १ मा अध्ययनरत इतिमाया चेपाङको अवस्था पनि उस्तै छ । उनी दुई वर्षदेखि कक्षा १ मा अध्ययन गर्छिन् । पढाएको नबुझ्ने भएपछि परीक्षामा उत्तीर्ण हुनसमेत सकिनन् । तर उनी नियमित विद्यालय आउने र दिउँसोको खाजाको भरमा आफूलाई बचाइरहेकी छिन् ।

बहिरा विद्यार्थीलाई पढाउन विशेष ज्ञानसमेत छैन । अरुसरह पढाउँदा नबुझ्ने र हातको इसाराले केही कुरा सिकाएपछि आफूहरुले उनीहरुलाई खाजाको लागि मात्र बोलाएजस्तो भएको प्रधानाध्यापक तामाङको भनाइ छ ।

उनीहरु मात्र होइन, यस विद्यालयमा चेपाङ बालबालिका मात्र पढ्ने भएकाले गाउँभरिका विद्यार्थीमध्ये आधाजसो भोकै विद्यालय आउँछन् । विद्यालयको खाजा कार्यक्रमका कारण उनीहरुलाई बचाउन सकिएको हो । बाबुआमा काममा जान्छन्, उनीहरुका छोराछोरी विद्यालय गएर दिउँसो १ बजे खाजा खाएर त्यही खाजाको भरमा भोलिपल्ट खाजा खान विद्यालय आउने गरेको पाइन्छ ।

५५ विद्यार्थी रहेको यो विद्यालय जब गाउँमा खाद्यान्न सकिएर चेपाङ समुदाय खोले र गिठ्ठाको भरमा बस्छन् तब उनीहरुका बालबालिका सबैजसो विद्यालय आउँछन् र विद्यालयले दिएको खाजा खाएर बाँचिरहेका छन् ।

अधिकांशको कपडा छैन । अँगेनाको छेउमा आगो बालेर सुत्ने र बिहान उठेर त्यही लुगा टकटक्याएर लगाएर विद्यालय आउनु उनीहरुको दिनचर्या नै बनेको छ । पृथ्वीराजमार्गको मलेखुबाट एक घण्टा गाडीको बाटो ताल्ती पुगेपछि करीब तीन घण्टाको पैदल दूरी पार गरेपछि पुगिने चोतेस गाउँ गरीबीले गाँजेको र खानका लागि हरेक दिन सङ्घर्ष गर्नुपरेको गाउँ हो ।

गाउँवासीको अवस्था जस्तै विद्यालय भूकम्पपछि निर्माण गर्ने जिम्मा लिएको निकायले समयमा निर्माण नगर्दा एउटै कोठामा चार कक्षा राखेर पढाइरहेका छन् । गाउँमा धेरै बाठाटाठा नभएको र गरीबीका कारण विद्यालयको बारेमा कसैले सोधीखोजी नगरेपछि काम गर्ने निकायले समेत ढिला गरेको गाउँवासीको आरोप छ । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop