www.tandavnews.com
Fact ~ In search of truth

मोनोरेलको लागि चिनियाँ कम्पनीसगँ सम्झौता

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिएको छ ।

काठमाण्डौँ महानगरपालिकाले चाइना रेलवे २५औंँ ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका लागि आज राजधानीमा सम्झौता गरेको हो । सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेलवे कम्पनीका ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यू ग्वाङ्विङ्ले हस्ताक्षर गरेका छन् ।

Batas

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सबै राजनीतिक दलको साझा एजेण्डा र सबैको सपना मोनोरेल भएको उल्लेख गर्दै राज्यलाई आर्थिक बोझ नहुने गरी चिनियाँ कम्पनीसँग सम्झौता गरिएको बताए । “सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा काम भएको छ,” शाक्यले भने, “मोनोरेल चल्यो भने काठमाण्डौँको प्रदूषण समस्या समाधानमा सहयोगी बन्छ ।”

नेपालले विसं २०१२ बाटै मोनोरेलको अध्ययन शुरु गरेपनि सफल हुन सकेन । नेपालमा विज्ञ र क्षमताको अभाव तथा खर्चिलो हुँदा काम हुन नसकेको कामपाले जनाइएको छ । तर अब भने सपना साकार हुने भन्दै प्रमुख शाक्यले निर्माण गर्दा कसैको घर भत्काउन समेत नपर्ने उल्लेख गरे । डिपिआरपछि ठेक्का प्रक्रियामा जाने महानगरपालिकाको भनाइ छ ।

चाइना रेल वे २५औँं ब्युरो ग्रुप कम्पनीको ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यू ग्वाङ्विङ मोनोरेलको डिपिआर निर्माणका लागि सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गर्दै समयमै प्रतिवेदन तयार हुने उल्लेख गरे ।

माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए), मोनोरेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनको चरण र लाभ विश्लेषण सहितको डिपिआर निर्माण हुने महानगरपालिकाले जनाएको छ ।

यसअघि मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भएको थियो । आर्थिक प्राविधिक तथा शहरी यातायात व्यवस्थापनको दिगोपनाको विषयमा भएको सम्भाव्यता अध्ययन प्रतिवेदन भदौ २८ गते महानगरपालई बुझाइएको थियो ।

सम्भाव्यता अध्ययनका लागि कम्पनीले २०७५ वैशाख २० मा आशयपत्र बुझाएकामा जेठ ११ गते सम्झौता भएको थियो । उक्त कम्पनीले छ महीनामा सम्भाव्यता अध्ययन सक्ने सम्झौता गरेपनि तीन महीनामै काम सम्पन्न गरेर प्रतिवेदन बुझाएको थियो । त्यसलाई उदाहरण दिँदै महानगरपालिकाका प्रमुख शाक्यले अहिले डिपिआर निर्माण सम्झौता एक वर्षको भए पनि छ महीनामै प्रतिवेदन आउने विश्वास व्यक्त गरे।

सम्भाव्यता अध्ययनले गौशालादेखि चावहिलसम्मको सडक विस्तारमा देखिएको समस्या समाधानमा सरकारले सहयोग गरे विस्तारित चक्रपथको पैदलमार्गभित्रको दोस्रो लाइनमा मोनोरेल चलाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । यसैको आधारमा डिपिआर तयार पार्न लागिएको महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मोनोरेल निर्वाचनको समयमा राजनीतिक एजेण्डा भएको र आवश्यकता पनि रहेकाले समयमै काम हुने आशा व्यक्त गरे ।

सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार उपत्यकाको २७ किमी चक्रपथमध्ये १० किमी ललितपुर महानगरपालिकाभित्र पर्छ । अहिलेको अवस्थालाई आकलन गर्दा तीन चरणमा निर्माण गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ ।

पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म, दोस्रो चरणमा कलङ्कीदेखि महाराजगञ्जसम्म र तेस्रो चरणमा महाराजगञ्जदेखि कोटेश्वरसम्म काम गर्दा उपयुक्त हुने अध्ययनको निष्कर्ष छ । मोनोरेल निर्माणका लागि करीब एक खर्ब १६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।  रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.