www.tandavnews.com
Fact ~ In search of truth

जाडो छल्न सहर झरे मुस्ताङका विद्यालय

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज ।  

चिसो बढ्दै गएपछि हिमालपारीको जिल्ला मुस्ताङका विद्यालयहरु घुम्ती विद्यालयको रुपमा पोखरा सर्न थालेका छन् ।

तापक्रम शून्यबाट माइनस डिग्री सेन्टिग्रेडमा पुग्दा जनजीवन नै प्रभावित हुँदा विद्यार्थीहरुलाई विद्यालयमा चिसोले अप्ठ्यारो पार्ने गरेका कारण हरेक बर्ष बिशेष गरी उपल्लो मुस्ताङका छोसेर, छोनुप, सुर्खाङ, चराङ, मराङ, घमी, लोमान्थाङ लगायतका ठाउँमा रहेका विद्यालय कात्तिकमै बन्द हुने गरेका छन् ।

Batas

हिमपातले जनजीवन पूर्ण रूपमा प्रभावित हुने गरेका कारण उपल्लो क्षेत्रका विद्यालय तल्लो भेगका विद्यालयभन्दा झण्डै डेढ महिनाअघि नै बन्द हुने गरेका छन् ।

विद्यालयहरु जाडो हुने महिनाहरु कात्र्तिक, मंसिर, पौष र माघ महिनाको लागि पोखरा सार्ने गरिएको छ । हिमाली भेग भएकाले अत्याधीक चिसो हुँदा शिक्षकहरु समेत मुस्ताङमा रहन नसक्ने भएका कारण विद्यालयलाई विभिन्न दातृ निकाय, गाउँपालिका र शिक्षा विकास तथा समन्वय इकाइको बिभिन्न सहयोगमा पोखरा सार्ने गरिएको हो ।

जिल्लाका लोमान्थाङ गाउँपालिका, लो घेकर दामोदरकुण्ड गाउँपालिका र बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकामा सञ्चालित अधिकांश विद्यालयहरु पोखरामा घुम्ती विद्यालयका रुपमा सर्दै आएका छन् ।

लोमान्थाङ गाउँपालिकाका शिक्षा समन्वय इकाइ स्रोत व्यक्ति गाविन्द श्रेष्ठले दिएको जानकारी अनुसार उपल्लो मुस्ताङमा रहेका सामुदायिक, निजी र गुम्बा विद्यालयहरु जाडो सिजनका महिनाहरु मंसिरदेखि माघ महिनासम्म पोखराको चाउथे, हेम्जा, पृथ्वीचोक, लेकसाइड, लेखनाथ, विरौटा लगायतका ठाउँमा सर्ने गरेका छन् ।

घुम्ती विद्यालयका रुपमा पोखरा सर्ने विद्यालयमध्ये केहीले आफ्नै भवन निर्माण गरेका छन् भने केही भाडाको घर र भवनबाट सञ्चालन हुने गरेका छन् ।

नेपाल–चीन सीमा कोरल्ला नाकासँग जोडिएको एकमात्र विद्यालय दिव्यदीप मावि विद्यालय छोसेर, लोमान्थान गाउँपालिकामा रहेका १० ओटा आधारभूत विद्यालय, २ ओटा गुम्बा विद्यालय र २ वटा निजी विद्यालयले कात्तिक दोस्रो हप्ताबाटै पोखरामै विद्यालय लगेर पठनपाठन गर्न थालिसकेका छन् ।

त्यसबाहेक लोघेकर दामोदर कुण्ड गाउँपालिकामा रहेका ८ ओटा आधारभूत विद्यालय मध्ये ६ वटा विद्यालय घुम्ती विद्यालयको रुपमा कात्तिक दोस्रो साता पोखरा गइसकेका छन् भने २ वटा मंसिर महिना लागेसँगै पोखरा आएका छन् ।

उपल्लो मुस्ताङका २६ भन्दा बढी विद्यालयहरु जाडोको समयमा घुम्ती पढाइका लागि बेसी झर्ने गरेका छन् भने अन्य ३० वटा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको मंसिर अन्तिम साता चालु शैक्षिक सत्र अन्त्य गरी बिदा दिने गरिएको छ ।

सरकारले दिने विभिन्न सार्वजनिक बिदामा समेत कक्षा सञ्चालन गरेर कतिपय विद्यालयमा मंसिर मसान्तसम्म विद्यालयको परीक्षा सकेर हिउँदे बिदा हुने गरेको छ । मुस्ताङमा आधारभूत र माध्यमिक तह गरी ५६ सामुदायिक विद्यालय र आठ गुम्बा विद्यालय सञ्चालनमा छन् ।

यसमध्ये १ देखि ३ कक्षासम्म पढाइ हुने १९, १ देखि ५ सम्म २३ , १ देखि ८ सम्म ६, १ देखि १० सम्म चार, १ देखि १२ सम्मका तीन र स्नातक तहको पढाइ हुने एक क्याम्पस छन् ।

त्यस्तै १ देखि ५ सम्म दुई, १ देखि ८ सम्म एक र १ देखि १० सम्म पढाइ हुने एक गरी चार वटा निजी विद्यालय सञ्चालनमा छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.