www.tandavnews.com
Fact ~ In search of truth

ज्ञानेन्द्र पोखरा आएकै बेला किन आए कमल थापा ?

पोखरा
ताण्डव न्यूज । 

हिन्दु राष्ट्र स्थापनाको लागि फागुन ७ देखि कमल थापा नेतृत्वको राप्रपाले जनसंघर्ष सुरु गर्ने घोषणा गरेको छ । शुक्रबार पोखरामा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापाले राजतन्त्र सहितको हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि संघर्षको तयारी स्वरुप सात वटै प्रदेशमा पार्टी प्रशिक्षण कार्यक्रम चलिरहेको बताएका हुन् ।

‘विभिन्न मागहरु राखेर फागुन ७ देखि जनसंघर्ष सुरु गर्दैछौँ,’ थापाले भने, ‘त्यसको तयारीको लागि प्रदेश स्तरिय कार्यक्रमहरु भइरहेका छन् । यस अघि अन्य छ प्रदेशमा सकेर गण्डकीमा भएको हो । विगत केही वर्ष यता योजनाबद्ध र संगठित रुपमा धर्म परिवर्तन गराउने काम भइरहेको छ । १२ लाख धर्म परिवर्तन गरेको अनुमान छ । यसबाट सदियौँ देखि कायम रहँदै आएको सामाजिक, सांस्कृतिक सद्भाव खल्बलिन सक्ने सम्भावना हामीले देखेका छौँ ।’

Batas

हिन्दु राष्ट्र मुख्य एजेण्डा

नेपालको राष्ट्रिय पहिचान र एकताको आधार रहेको सनातन धर्म र संस्कृति खत्रामा रहेको भन्दै उनले हिन्दुराष्ट्र मुख्य एजेण्डा बनाई जनदबाब सृजना गर्न यो संघर्ष गर्न लागेको उनले बताए ।

‘राष्ट्र विखण्डनका आवाजहरु सुनिएका छन्,’ उनले भने, ‘केही समय अघि तराइका केही जिल्लामा खुलेआम मधेश नेपाल हैन । स्वतन्त्र मधेश हो भन्ने प्लेकार्ड बोकेर प्रदर्शन र सभा भयो । तर नजिकै रहेको प्रशासन मौन दर्शकको रुपमा बस्यो । यसले परक्ष रुपमा विखण्डनकारीको मनोबल बढेको छ ।’

थापाले राजनीतिक दल र नेतृत्वहरुको अकर्मन्यताको कारणले सामान्य रुपमा रहेको विखण्डनकारी शक्ति कालान्तरमा राष्ट्रिय सुरक्षाको डरलाग्दो खतरा बन्दै जाने भन्दै चिन्ता ब्यक्त गरे ।

‘राष्ट्रिय सुरक्षाको डरलाग्दो खतरा नबनोस भन्नका लागि राष्ट्रिय अखण्डताको पक्षमा शसक्त जनमत र जनदबाब सृजना गर्न लागिएको हो,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन, शान्ति सुरक्षाको अबस्था कमजोर हुँदै गएको छ । यस्तो अबस्थामा राज्यका संयन्त्रहरुको प्रभावकारीता समेत ह्रास हुँदै गएको हुँदा यो संघर्षको क्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनको मुद्धालाई उठाउनेछौँ ।’

कांग्रेस देखेर फुर्किए थापा

काठमाडौँमा चलिरहेको नेपाली कांग्रेसको महासमिति बैठकमा केही नेताहरुले हिन्दु राष्टको पक्षमा बोलेको र हस्ताक्षर अभियान नै चलाएपछि कमल थापा फुर्किएका छन् ।

‘हिन्दु राष्टको पुनस्र्थापनाको पक्षमा अहिले मलाइ खुसी लागेको छ । विगतमा यो एजेण्डालाइ हामी एक्लैले बोकेर हिँड्नु परेको थियो,’ उनलेल भने, ‘अहिले सामाजिक, सांस्कृतिक क्षेत्रको साथसाथै राजनीतिक दलहरु पनि यस प्रति झुकाब बढ्दै गइरहेको छ । विशेष गरी देशको एक प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेसका केही नेताहरुले हिन्दु राष्टको पक्षमा आवाज उठाउन थालेका छन् । काठमाडौँमा जारी रहेको महासमितिको बैठकमा सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका छन् । यसलाई हामीले अत्यन्तै सकारात्मक र स्वागत योग्यको रुपमा लिएका छौँ । हिन्दु राष्ट पुनस्र्थापनाको लागि नेपाली कांग्रेसले शाहसिक निर्णय गरोस भन्ने म आग्रहका साथ शुभकामना ब्यक्त गर्दछु ।’

हिन्दु राष्ट पुनस्र्थापनाको पक्षमा कांग्रेस खडा भए राजनीतिक सहकार्य गर्न सकिने उनको तर्क छ ।

थापाले ढिलो चाँडो कांग्रेस हिन्दु राष्ट्रको एजेण्डामा आउने विश्वास ब्यक्त गरे ।

‘कांग्रेस कम्यूनिष्टको विकल्प हुने हो भने कम्यूनिष्टको एजेण्डा बोकेर हैन आफ्नै एजेण्डा बिपी कोइरालाले प्रतिपादन गरेको मान्यताकै जगमा खडा हुनुपर्दछ,’ उनले भने, ‘ढिलोचाँडो कांग्रेसमा यो आउँछ । राप्रपा राजसंस्था सहितको लोकतन्त्रको उपयुक्त मुद्धामा छ । यसमा सहकार्य गर्न हामी तयार पनि छौँ ।’

एकनाथ ढकालको कार्यक्रमको विरोध

पूर्वमन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको संयोजकत्वमा यूनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको कार्यक्रममा सरकारको उपस्थिती रहेको भन्दै थापाले विरोध गरे ।

‘हामी संस्था र कार्यक्रमको विरोधमा छैनौँ तर, धर्म प्रचारक संस्थाले आयोजना गरेको विवादास्पद कार्यक्रममा प्रधानमन्त्री लगायत सरकारको जुन तामझामका साथ सहभागिता भयो त्यसको विरोधी हौँ,’ थापाले भने, ‘धर्म प्रचारक संस्थाले आयोजना गरेको कार्यक्रममा राज्यकोषबाट करिब १५ करोड रुपैयाँ खर्च गरियो यो आपत्तिजनक छ । यो संविधानको भावना विपरित पनि छ । यसबाट अल्पसंख्यकलाइ रिजाउने नाममा बहुसंख्यकको आस्था र विश्वासमाथी आघा पु¥याउने काम भएको छ ।’

विगतको जस्तो राजसंस्था होइन

कमल थापाले विगतमा जस्तो राजतन्त्रको मुद्धा आफ्नो पार्टीले नउठाएको स्पष्ट पारे ।

‘विगतको जस्तो राजतन्त्रको कुरा गरेका हैनौँ,’ उनले भने, ‘गणतन्त्रवादी र परिवर्तनकारी शक्तिहरुलाई पनि चित्त बुझ्ने सहमति र सहकार्यको राजसंस्था सहितको लोकतन्त्र कायम गर्न सकिन्छ भन्ने हाम्रो मुद्धा हो । हामी पनि लोकतन्त्रकै पक्षमा उहाँहरु पनि लोकतन्त्रकै पक्षमा । फरक यति मात्रै होकी राजसस्था सहितको लोकतन्त्र गर्नेकी राजसंस्था विहिन लोकतन्त्र गर्ने । यो एउटा फरक फरक विचार हो । यसमा प्रतिस्पर्धा हुँदैछ । जनताले के बिचार गर्छन त्यो उपयुक्त होला ।’

राप्रपा संघीयता विरोधी

राप्रपा संघियताको विरोधी पार्टी रहेको उनले प्रष्ट पारे ।

‘अहिले पनि हामी नेपालका निमित्त संघीयता आवश्यक छैन भन्दै आएका छौँ,’ उनले भने, ‘राजा देखि माओवादीसम्म अटाउने मध्यमार्गी अबधारणा प्रस्तुत गरेका छौँ त्यसैगरी नेपालको सन्दर्भमा संघीयता पक्षधरहरुलाइ पनि चित्त बुझ्ने मध्यमार्गी अबधारणा हामीले प्रस्तुत गरेका छौँ । केन्द्रमा बलियो सरकार र जनताको घरदैलोमा रहने गरी सुदृढ स्थानीय स्वायत्त शासन यत्ति भए पुग्छ । बीचको तह चाहिँदैन ।’

संविधानकै मर्मअनुरुप सहमतिकै आधारमा परिवर्तन गर्न सकिन्छ भन्ने हाम्रो विश्वास राप्रपामा रहेको उनको भनाइ छ ।

‘हामी जनमत र जनदबाब सृजना गर्दैछौँ । जनमतको कदर भएन भने त्यसको परिणति के हुन्छ थाहा छैन’ उनले भने ।

छिट्टै पार्टी एकिकरण

अरु राप्रपाहरुसँग पार्टी एकिकरणको बारेमा प्राय सबै विषयमा सहमति भइसकेको उनले बताए ।

‘पशुपति जी र प्रकाशचन्द्र लोहनी ज्यूले आन्तरिक तयारी भनेकोे रोकिएको हो’ उनले भने । पोखरामा राजाको स्वागतमा धेरै जनता आए यस्लाइ कसरी लिनु भएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अझै पनि जनतामा राजसंस्था प्रति आस्था र विश्वास छ भन्ने बुझ्न सकिन्छ ।’ उनले अब स्थापना हुने राजसंस्था पार्टी र राजनीति भन्दा माथीको हुनुपर्छ भन्ने मान्यता राप्रपाले राखेको बताए ।

राजासँग पहिलेजस्तै भेटघाट हुने उनले खुलाए । उनले पोखरामा राजा आउने राप्रपाको कार्यक्रम पनि पोखरामै हुनुलाई संयोग मा भएको बताए । उनले आजै राजासँग भेट हुने समेत बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.