www.tandavnews.com
Fact ~ In search of truth

सत्ता र प्रतिपक्षी एजेण्डाहरू

सुमित्रा भट्टराई
पाेखरा, ताण्डव न्यूज ।

अचेल सामाजिक सञ्जालले व्यक्तिको राजनीतिक बिचार छुट्याउने साह्रै सजिलो बनाईदिएको छ । सत्तापक्ष र प्रतिपक्ष, लाग्छ यो देशमा उदाएका दुईदल बाहेक बाँकी दल नै छैनन् । ति केही राजनीतिक कार्यकर्ता, केही पत्रकार, केही अधिकारकर्मी, केही निजामति कर्मचारी, केही विद्यार्थी त केही शिक्षक बनेर उदाउँछन् । यहाँ अरू दलका बारे लेख्न छुटे कारण आफैँ छुट्याउनुहोला ।

सत्ता पक्षको एजेण्डा प्रधानमन्त्रीज्यू र नेकपा आबद्ध नेतागणको जयजयकार हो । प्रतिपक्षको एजेण्डा भने जसरी होस् चाहे सडकमा लम्पसार परेर होस्, कुतर्क गरेर होस्, चाहिँदो काम गरेर होस् वा निहुँ खोजेरै होस् बस् सरकार फेल गर्नु भन्ने देखिन्छ ।

Batas

यो एकसुत्रीय लक्ष्यमा अघि बढेको प्रतिपक्षका लागि दल सरकार फेल हुनु शासन फेल हुनु हो । शासन फेल हुनु त्यससँग जोडीएका देश नागरिक सबै फेल हुनु हो भन्ने जान्दाजान्दै पनि उसका एजेण्डा चलिरहेछन् ।

दुईजना वक्ताले माईक्रोफोन लिन्छन् । सत्तापक्षको भाषण प्रधानमन्त्रीले र प्रदेशले गरेका राम्रा पक्ष बखानेर सुरू हुन्छ । केही गुनासा पनि जोडीन्छन् हामीले यसो गर्न पाएनौँ उसो गर्न पाएनौँ । छेउमा बसेका प्रतिपक्षीले उत्तर छेड्छन् । दुईतिहाई छ जे गरे नि भो नी ! जनताले यही छेडखानी सुन्न भोट दिएका हुन् ?? अब पालो प्रतिपक्षी प्रतिनिधिकाे उहाँहरूको भाषण निर्मला पन्तबाट सुरू हुन्छ ।

माफ गर्नुहोला केहीलाई चित्त नबुझ्न सक्छ तर अहिले निर्मला अधिकारका लागि भन्दा एजेण्डाका लागि उपयोग भएकी छिन् । विशुद्द न्यायका लागि आवाज उठाईरहेको जमात एकातिर छ । छेडखानीको जमात अर्कोतिर ।

के दुर्गादेवी पन्त कांग्रेसकी कार्यकर्ता हुन् ? न्यायका लागि एउटा पक्षमात्रै बोल्नुपर्ने ? सरकारले अभियुक्त देखाउने हतारमा गरेको गल्तीले भएका र हुन सक्ने सम्भावित घटनाका बारेमा सत्तापक्षका प्रतिनिधि बोल्नुपर्दैन ? तपाईहरू जनप्रतिनिधि कम सरकारले गरेका गल्ती लुकाउने वा देखाउने भित्तो बढी बन्नुभएको छ ।

निर्मला पन्तका बलात्कारी र हत्यारा जनताका लागि तेर्साएका बुख्याँचा सरह हुन् । अभियुक्त देखाउने हतार, तुक नभेटिने अभियुक्त कहिले को कहिले को देखाएर जनतामा छरिरहेको भ्रमका बारेमा दुबैपक्षले सावधानी अपनाएर सहि सूचना जनतामाझ पुर्याउन जरूरी छ ।

पछिल्लो समय कंचनपुरका पत्रकार ज्यूहरूले सामाजिक सञ्जालमा कसैले निलम्बित एसपीका कल डिटेल यति घण्टामा राख्छौँ भनेर फेसबुकमा लेख्नुहुन्छ । निर्धारित समयमा सामाग्री पोण्ट नभएपछि घण्टा गनेर बसेका साथी खोई त डिटेल ? भनेर फलोअप स्टेटस राख्नुहुन्छ । बुझ्नेले प्रतिक्रिया जनाउँछन् ।

दुरदराजका साथीलाई अत्तोपत्तो हुँदैन । बुझ्नका लागि रिप्लाई कन्भरसेसन हेर्नुपर्छ । सञ्चारकर्मी नै बाझिएर न्याय भन्दा बढी आरोप र प्रत्यारोपतिर हामी बिभाजित भएका छौँ । राज्यका चौथो अंग तपाईहरूका स्ट्याटसले पनि सूचना दिनुपर्नेमा जनता र पाठकमा भ्रम छरिरहेका छन् ।

यो यसबेला देखिको चलन पनि होईन कहिले एकको पालो कहिले अर्कोको पालो, जसले मौका पायो उपयोग गर्यो । चिकित्सा क्षेत्र, शिक्षा क्षेत्र, अर्थबजार, समाज, भुगोल जो जुन पाटोमा जोडिएका छौँ समय आउँदा आफ्ना हैसियतमै ओर्लिन्छौँ । अहिलेको सत्तापक्षले पनि हिजो यस्तै जुक्ति अपनाएकै हो । निर्वाचनका समयमा नाम नचलेका अनलाईनबाट अतिरञ्जित गर्ने समाचार पोष्टिने, झुठको प्रचार गर्ने, नचाहिँदो बिषयमा सहानुभुति खोज्ने, लगानी बिनाको जस खोज्ने, चाहिँदो बढी चाकरी गर्ने त हाम्रा कहलिएकै गतिविधि हुन् ।

कसैको आर्शिवाद छुट्ने डरले तपाईले गरेको दुष्प्रचारले केही व्यक्तिलाई दिग्भ्रमित गरेपनि घुमिफिरी असर त तपाईलाई पनि गर्ने नै हो । जुनसुकै बहाना र डरमा गलत चिजको प्रचारमा अग्रसर दुवै पक्षले आफ्नो खुट्टामा बञ्चरो हान्ने काम बाहेक अरू गरेका छैनन् ।

यसो भनिरहँदा असल प्रचार र सद्भाव फैलाउने कार्यकर्ता छँदै छैनन् भन्न खोजिएको हैन । त्यो दोष नलागोस् तर अहिले त्यस जमातलाई भ्रम र स्वार्थको जमात्ले जितिरहेको छ । जुन जमात् दल र देश दुबैका लागि घातक हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.