www.tandavnews.com
Fact ~ In search of truth

पर्यटनको प्रदेश गण्डकी

सन्तोष अधिकारी
पोखरा, ताण्डव न्यूज । 

त्यो समय प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा चर्को बहस चलिरहेको थियो । अन्य प्रदेशमा यही विषयमा विवाद चर्किरहँदा प्रदेश नम्बर ४ मा भने तोकिएको राजधानीलाई कसरी स्वागत गर्ने भन्ने विषयमा चर्चा चल्दै थियो ।

चाहे जिल्ला समेट्ने कुरामा होस या राजधानी तोक्ने विषयमा किन नहोस् एउटा उदाहरणीय प्रदेश बन्यो प्रदेश नम्बर ४ । तत्कालीन गण्डकी र धौलागिरीका विभिन्न ११ वटा जिल्लाहरू समेटेर प्रदेश ४ बन्यो । राजधानी पनि पोखरालाई नै तोकियो ।

Batas

गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ, मनाङ, नवलपुर र मुस्ताङलाई यस प्रदेश अटाए । गण्डकी प्रदेश सरकारले आफ्नो शोधपत्र नै जारी गरेर पर्यटनलाई विकासको मुख्य आधार मानिसकेको छ ।

पर्यटन नै मुख्य आधार

प्रदेश ४ को आर्थिक स्रोतको मुख्य आधार नै पर्यटन हो । समग्र नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येका धेरै ठाउँहरू यही पर्छन् । अन्नपूर्ण राउन्ड, मनास्लु राउण्ड नै यहाँका हिमाली पर्यटकीय क्षेत्रहरू हुन् ।

पर्यटनको हिसाबले अरू छ वटा प्रदेशको तुलनामा प्रदेश ४ अगाडि छ । प्रदेश ४ को राजधानी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको पहिलो गन्तव्य हो । यो प्रदेश प्राकृतिक र धार्मिक पर्यटनको घरभन्दा पनि फरक पर्दैन । मुक्तिनाथ पनि यसै प्रदेशमा पर्छ ।

आन्तरिक स्रोत र साधनका लागि प्रदेश ४ मा पर्यटन क्षेत्र मुख्य आधारका रूपमा देखिएको छ । तालैतालको सहर पोखरा हुँदै हिमाली जिल्लाहरूमा पनि हिमतालले पर्यटकलाई हिमालसम्म लगेर गाउँलेको आर्थिकस्तर उकास्न मद्दत गरिरहेकै छ । उसो त पोखरालाई सात तालको सहरसमेत भन्ने गरिन्छ ।

प्रदेश ४ का अरू रमणीय, ऐतिहासिक र पर्यटकीय स्थलहरूमा गोरखाको वारपाक, घान्द्रुक, घलेगाउँ, सिरुवारी, ढोरपाटन, बौद्ध स्तुपा, सराङकोटलगायतका क्षेत्रहरू पर्यटकका लागि उपयुक्त स्थान हुन् । नयाँ पर्यटकीय गन्तव्यहरुको पनि खोजी भइरहेको छ । प्याराग्लाइडिङ पर्यटकका लागि अर्को आर्कषणको केन्द्र बनेको छ ।

उत्तरमा चीनको कोरला र दक्षिणमा भारतको भैँसालोटन नाका प्रदेश ४ ले आर्थिक फाइदा लिन सक्ने क्षेत्र हुन् । त्यस्तै, गोरखाको लार्के–कोरला नाकाबाट पनि यस प्रदेशले फाइदा लिन सक्नेछ । नेपाली सेनाले गोरखाको आरुघाट हुँदै कोरला नाका जोड्ने सडक खनिरहेको छ ।

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समग्र देश र प्रदेशलाई समृद्ध बनाउन आफू पर्यटनको विकासमा लाग्ने बताउँछन् । ‘हाम्रो प्रदेशको समृद्धिको आधार नै पर्यटन हो’, मुख्यमन्त्रीले हरेक जसो कार्यक्रममा भन्छन्, ‘अहिले भइरहेको पर्यटकहरूको गतिविधि र आउजाउलाई बढाउन म सबै पक्षसँग छलफल गरी अघि बढ्न तयार छु ।’ उनले पर्यटनको विकास गरी युवालाई रोजगारी सृजना गर्ने आफ्नो लक्ष्य रहेको बताए । माछापुच्छ«े, मनास्लु, बुद्ध, लमजुङ हिमाल, अन्नपूर्ण, धौलागिरी, निलगिरी लगायत दर्जनौँ साना ठूला हिमालहरू यही छन् । प्रदेश ४ ले सबैभन्दा धेरै हिमाली जिल्लामार्फत फाइदा लिन सक्ने अवस्था छ ।

पोखराको सराङकोट र स्याङ्जाको स्वरेक पर्यटनका लागि नाम कमाएका ठाउँहरू हुन् । प्रदेश ४ ले नेपालको कूल भूभागको १६.९५ प्रतिशत जमिन ओगटेको तथ्याङ्क विभागले जनाएको छ । जलविद्युतको सम्भावना र अवसर बूढीगण्डकीदेखि कालीगण्डकीसम्म अहिले पनि सबैभन्दा कम लोडसेडिङ हुने प्रदेश ४ रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

जलविद्युतको हबको रूपमा स्थापित भइसकेको लमजुङमा ७५ मेगावाटसम्मका नौवटा जलविद्युत आयोजनाहरूले विद्युत नै उत्पादन गरेर वितरण गरिरहेका छन् । यो प्रदेशमा ठूला विद्युत आयोजनाहरूको निर्माण हुने क्रममा छन् । विद्युतमा कुल देशैभरको हिसाब गर्दा उत्पादनको ५२ प्रतिशत हिस्सा यही प्रदेशले लिएको छ ।

प्रदेश ४ लाई विकासको बाटोमा डो¥याउने माध्यम पर्यटनपछि जलविद्युत रहेको लमजुङका पत्रकार आश गुरुङ बताउँछन् । ‘लमजुङमा बनिसकेका नौ र आठवटा निर्माणाधीन छन् । मस्र्याङ्दी, सुपरदोर्दी जस्ता आयोजनाहरूले पनि उत्पादन दिइरहेका छन् । कोही दिने तयारीमा छ’, उनले भने, ‘लमजुङ मात्रै होइन, प्रदेशभरि नै निर्माण गर्न सकिने अर्ध जलाशययुक्त आयोजना (रनअफ द रिभर) हरू धेरै छन् ।’

गोरखाको बुढीगण्डकी, दरौँदी, कास्कीकै सेती, तनहुँमा मादीसेती लगायतका अन्य जिल्लाहरूमा आयोजनाहरूको सम्भाव्यता अध्ययन गर्न सकिन्छ ।

पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्षसमेत रहेका गुरुङ बुढीगण्डकीदेखि कालीगण्डकीको बीचमा प्रदेश ४ लाई फूल जस्तो सुन्दर बनाउन सकिने बताउँछन् । गुरुङ भन्छन् ‘लगानीमैत्री वातावरण हुनुप¥यो । स्थानीय तह सक्रिय हुनुप¥यो । निजी क्षेत्रले लगानी गरिहाल्छ । सरकारले सहयोग र समन्वय भूमिका खेले मात्र पुग्छ ।’

गोरखा र धादिङको सिमाना हुँदै देशकै ठूलो १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजनाका विभिन्न चरणका कामहरू समेत भइरहेका छन् । माथिल्लो बुढीगण्डकी नाम दिएर ८० मेगावाटको आयोजनाको निर्माणको प्रक्रियासमेत सुरु भइसकेको छ । जलस्रोतमा अगाडि रहेकै कारण विद्युत उत्पादनले कलकारखाको सम्भावना उत्तिकै रहेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत बताउँछन् । जलाशयुक्त आयोजनाको लागि प्रदेश ४ पहिलो नम्बरमा रहेको छ ।

प्रदेश ४ मा करिव नौ हजार मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गर्ने क्षमता रहेको बताइएको छ । साना ठूला गरी १४ आयोजना निर्माण हुने क्रममा छन् । ‘यहाँ जलविद्युत आयोजनाहरूको सम्भावना त उत्तिकै छ’, बस्नेतले भने, ‘पोखराको औद्योगिक क्षेत्रलाई विस्तार गर्ने, युवालाई स्वरोजगारको कामको अवसर दिने ।

कुन जिल्लामा के उद्योग सञ्चालन गर्न सम्भाव्यता छ, त्यो अध्ययन गरी निजी क्षेत्रसँग समन्वय गरी अघि बढ्ने मेरो प्रतिबद्धता छ । हामी अधिकांश पहाडी क्षेत्रमा रहेकाले उद्योगमा आधारित कृषिलाई प्राथमिकता दिनेछौँ ।’ पालुङ्टार प्रदेशको औद्योगिक क्षेत्र प्रदेश ४ स्तरीय औद्योगिक क्षेत्र गोरखाको पालुङ्टारमा स्थापना गर्ने सरकारले तयारी गरेको छ ।

पालुङ्टार नगरपालिका ७ र ८ मा प्रदेशस्तरको औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी सुरु गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए । अध्ययनका लागि परामर्शदाता छनोट गरिएको छ ।

परामर्शदाताले सम्भाव्यता अध्ययन गरिरहेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए । ‘औद्योगिक क्षेत्रका लागि १० हजार रोपनी जग्गा आवश्यक पर्छ’, कँडेलले भने, ‘त्यसका लागि परामर्शदाताले पालुङ्टार ७ को ज्याक्दी खोलादेखि ८ को हजारी फाँटसम्मको जग्गाको अध्ययन गरेको छ । नगरपालिकाले सर्वदलीय बैठक गरी त्यहाँको जग्गा उपलब्ध गराउन सहमति दिने निर्णय गरेको छ । त्यही निर्णयलाई आधार बनाएर कार्यपालिकाले पनि त्यहाँको जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । आगमी नगर परिषदले पनि निर्णय गर्ने उनले बताए । यसअघि परामर्शदाताले कास्कीको पटनेरीको जग्गाको सम्भाव्यता अध्ययन गरेको थियो । ‘तर पटनेरीको जग्गा जम्मा ७०० रोपनी भएकाले अपुग हुने भयो, त्यहाँबाट धेरैलाई पुनः स्थापित गराउनुपर्ने देखियो’, बस्नेतले भने, ‘यहाँ जग्गा पनि पर्याप्त, कम पुनःस्थापित गराउनुपर्ने र देशकै मध्यबिन्दुमा पनि पर्ने भएकाले यो ठाउँ छनोटमा प¥यो ।’

यहाँको जग्गा मस्र्याङ्दी नदीको किनारमा पर्ने भएकाले पानीको स्रोत पनि पर्याप्त छ । त्यस्तै, पृथ्वी राजमार्गको छेउमा पर्ने भएकाले औद्योगिक क्षेत्रका लागि आवश्यक बाटो पनि उपयुक्त रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

‘अर्को महत्वपूर्ण पक्ष त यो क्षेत्र चीनदेखि भारतसम्म जोडिएको छ’, अध्यक्ष तथा महाप्रबन्धक बस्नेतले भने, ‘पश्चिममा कोरला, पूर्वमा केरुङले चीन जोडेको छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.