www.tandavnews.com
Fact ~ In search of truth

ट्याक्टर दुर्घटना : तीनको मृत्यु, एक घाइते

खोटाङ ।

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करीब ३ बजेको समयमा दुर्घटना भएको हो । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३५ वर्षीय मीनप्रसाद लुइँटेल र सोही नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १९ वर्षीय खेमराज भुजेल रहेका छन् ।

सोही ट्याक्टरमा सवार निर्मलीडाँडाकै २१ वर्षीय दुर्गाबहादुर लुइँटेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । अहिलेसम्म बेहोस अवस्थामा रहेका उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालीखोलामा ट्याक्टर दुर्घटना हुँदा चालक मीनप्रसाद र ट्याक्टरमा सवार माइकलको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते सहचालक खेमराजको उपचारका क्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिक्तेलबाट खाली फर्किएको ट्याक्टर सडकबाट करीब २०० मिटर तल खसेको जनाइएको छ । ट्याक्टर दुर्घटना हुनुको कारण अहिलेसम्म खुल्न सकेको छैन । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.