www.tandavnews.com
Fact ~ In search of truth

पहिरो जोखिमको प्राविधिक अध्ययन शुरु

म्याग्दी ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा प्राविधिक अध्ययन शुरु भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको नारच्याङ पुलदेखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नति र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न प्राविधिक टोली ल्याएको हो ।

भूगर्भविद् सञ्जय देवकोटा, राजमार्ग विज्ञ सञ्जीतकुमार झा र वातावरणविद् पूर्णचन्द्रराल राजभण्डारीको टोलीले आइतबारदेखि स्थलगत अध्ययन शुरु गरेको शर्मा–गजुरमुखी कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीले बताए ।गुइठे, जलथले, काभ्रे, लेतेलगायत भुरुङ तातोपानीदेखि कोवाङसम्मको सडक वरपरको क्षेत्रमा पहिरोको जोखिमको बारेमा अध्ययन गरिने भएको हो । निर्माण कम्पनीले आफ्नै खर्चमा विज्ञ ल्याएर अध्ययन शुरु गरेको क्षेत्रीले बताए ।

विज्ञ टोलीले दिने प्रतिवेदनको आधारमा आयोजनासँग समन्वय गरेर सडकको संरचना तयार पारिने क्षेत्रीको भनाइ छ । कालीगण्डकी नदीको पश्चिमी भागको किनारै किनार निर्माणाधीन सडक भिरालो, कमजोर भूगोल र तटीय क्षेत्र भएकाले पहिरो र कटानको जोखिममा छ ।गत वर्षात्मा बाढी र पहिरोका कारण शर्मा–गजुरमुखी कम्पनीले काम गरिरहेको क्षेत्रमा पाँच करोड रुपैयाँ मूल्य बरारबको भौतिक क्षति पुर्याएको दाबी गरेको छ ।

भूगोल अनुकूल, वातावरणलाई असर नपुग्ने गरी संरचना बनाएर दिगो र क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राविधिक अध्ययन शुरु गरिएको छ । बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर दूरीको सडकलाई कालोपत्रे गर्न चार वटा प्याकेजमा काम भइरहेको छ ।

मङ्सिर महीनादेखि सडक स्तरोन्नतिको लागि बेनी–जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी आवतजावत रोकेर काम गर्ने व्यवस्था मिलाइएको छ । बिहान ७ः३० देखि दिउँसो ११ः३० बजेसम्म र दिउँसो २ः३० बजेदेखि ६ः३० बजेसम्म सवारी आवातजावत रोकेर सडक निर्माणको काम गरिँदै आएको छ ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.