www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि संसदको तेस्रो हिउँदे अधिवेशन

काठमाडौँ ।

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकि हुन् ।

संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को यो अधिवेशन विधेयकमाथि छलफल र पारित गर्ने विषयमा नै केन्द्रित रहने बताईएको छ ।

आगामी फागुन २१ गते अर्थात (सङ्घीय संसद्को पहिलो बैठक बसेको एक वर्षभित्र) नेपालको संविधानसँग बाझिने कानून संशोधन गरेर संविधानसम्मत बनाई सक्नुपर्ने कार्यभार रहेको हुँदा यो अधिवेशन निकै महत्वपूर्ण रहने छ ।प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बुधबार नै दुई वटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ ।

पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउनेछन् । त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरूले मन्तव्य दिनेछन् ।

त्यसपछि सदनमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने संसद् सचिवालयले जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ पेश गर्नेछन् ।

प्रतिनिधिसभाको आजै बस्ने बुधबारको दोस्रो बैठकमा संसद्का पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधार र मोतिदेवी चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गरी पारित गरिने सम्भावित कार्यसूची तय गरिएको बताइएको छ ।

त्यस्तै राष्ट्रियसभामा भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, विभिन्न राजनीतिक दलका नेताबाट शुभकामना मन्तव्य, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने र बैठकको अन्त्यमा पूर्वसांसद बाँस्तोला, तुलाधर र चौधरीको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची तय भएको बताइएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.