www.tandavnews.com
Fact ~ In search of truth

चाउरिएका परेलीमा आँसुका ढिका

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

अगाडिका दाँत झरिसकेका छन्, विधुवा भेषमा हातमा लौरी र पिठ्यूँमा डोकोभरि सुन्तला बोकेर जंगलको बाटोमा एक्लै हिँड्दै गरेकी ६५ वर्षीय पद्मकुमारी नेपालीको सधैंको दैनिकी नै गाउँ गाउँमा पुगेर कृषि पसल खोजेर बजारमा ल्याएर बेच्नु हो ।

जीवन धान्नका लागि कुनै उपाय नभएपछि पछिल्लो १५ वर्षयता उनले यसरी डोकोमा तरकारी र फलफूल बेचेरै पेट पाल्दै आएकी छन् ।

Batas

‘जाडो भयो भनेर घाममा सुतेर दिन बिताउन भन्दा अलिकति दुःख गरेर रुपैयाँ कमाउन आनन्द हुन्छ,’ नेपाली भन्छिन्, ‘गाउँमा जे जे फल्छ, ती किनेर ल्याउँछु, डोकोमै बोकेर डुलाउँदै बेच्छु । दिनमा हजार रुपैयाँसम्म कमाई हुन्छ ।’

उनी झन्डै १८ वर्षकी थिइन्, जुनबेला उनले आफ्नो जीवनको वास्ता नै नगरी आफ्नी दिदीको निधन भएपछि उनको छोरीहरुलाई स्याहार्न थालिन् । गाउँलेहरुले दिदीका सन्तानले तिम्रो जीवन जाँदैन भन्न थाले । श्रीमती मरेपछि एक्लै परेका १ जना लाहुरेसँग विवाह गराइदिए ।

तर उनको त्यो सम्बन्ध ३ वर्षभन्दा लामो समय टिक्न सकेन । १ सन्तानकी आमा बनीसकेकी पद्मकुमारीले त्यसपछि दिनहुँ जसो रक्सीको मातमा श्रीमानको कठोर यातनाहरु भोग्न बाध्य भइन् ।

बुढेसकालले चाउरी परेका परेलीबाट तप्प तप्प आँसुका ढिका खसाल्दै पद्मकुमारी भन्छिन्, ‘ खै कसरी उसले मलाई फसाइहाल्यो । ४ वटा छोराछोरीको बाउ रहेछ, फेरि मसँगबाट छोरी जन्मी । छोरी पाइस् भन्थ्यो, तैंले ल्याएको सम्पत्ति के छ र भन्दै रातभरि पिट्ने, त्यही बेला मरुँ की जस्तो लाग्थ्यो । ऊ सँग नबस्ने भनेर एक्लै बस्न थालेँ ।’

लामो समय एक्लै बस्न उनलाई गाह्रो भयो, त्यसैले डकर्मीको काम गर्ने अर्का १ जनासँग वैवाहिक सम्बन्धमा गासिन पुगिन् । पछिल्लो पटक विवाह गरेका श्रीमानसँग उनको जीवन राम्रो चलिरहेको थियो । १ अर्कामा निकै विश्वास र माया थियो ।

तर, ईश्वरले उनको यो खुसीलाई पनि लामो समय टिक्न भने दिएनन् । विवाह गरेको साढे २ वर्षमा घर बनाउने क्रममा खसेर निधन भयो । उनले त्यही बेलाबाट नै दैनिक ज्यालादारीको रुपमा काम गर्न थालिन् ।

जीवनको धेरै समय श्रीमानको वियोगमा बिताएकी उनी आफ्ना सन्तानसँग पनि खुसी छैनन् । उनको ठूलो छोरा ट्याक्सी ड्राइभर रहेछन् ।

उनी भन्छिन्, ‘झारा टार्न आउ आमा यतै बसम् भन्छन् छोरा बुहारीले, माया गर्नेको तरिका त अर्कै हुन्छ । उनीहरुसँग पटक्कै जान मन छैन । मलाई यही डोको र लौरीको आड नै स्वर्ग हो,’ उनले थपिन्, ‘रक्सी खाएर मोटरसाइकल चलाएछ, हात खुट्टा दुवै भाँचिएछन् । छिमेकीले खबर दिए मलाई, रातभर रोएँ, भोलिपल्ट पोखराको अस्पतालमा पुगेँ । यो औषधी किन्, त्यो औषधी किन् भन्दा भन्दै १ लाख ७० हजार रुपैयाँ सकियो, ती सबै पैसा यही डोकोले कमाएको हुनाले छोरो बचाएँ ।’

उनले कान्छो छोरालाई १ लाखको लगानीमा दुवई पठाएकी छन् । पढ्नका लागि कर गर्दा नपढेर सताएको छोरालाई विदेश पठाउने पैसा पनि त्यही डोकोबाट कमाएकी रहिछन् उनले ।

उनी भन्छिन्, ‘नौ कक्षा पास भो, एसएलसी पढ् भन्दा मानेन, कहिले दिल्ली कहिले मन्द्रास गयो । अब नपढ्ने नै भए बरु विदेशै जा भनेर दुवई पठाएँ ।’

दुःखै गर्न परे पनि उनी आफ्नो जीवनमा कर्मलाई ठूलो मान्नुपर्ने उनी बताउँछिन् । ग्राहकसँग राम्रो डिल गर्ने शैलीले डोकोबाट तरकारी र फलपूmल बेचेर जीवनमा खुशी ल्याउन प्रयासरत छिन् । उनले थपिन, ‘यस्ती बुढी आमाले बेच्न राखेको त खाईदिनपर्छ, धर्म मिल्छ भन्दै किनिदिनुहुन्छ । अहिले सुन्तलाको मूल्य ६० छ, कोही कोहीले त ल ल भयो आमा तपाईं नै राख्नुस भन्दै नब्बे-सय रुपैयाँ नि दिनुहुन्छ ।’

जिल्लाको कुश्मा नगरपालिकास्थित जिरो किलोमिटरमा बस्ने पद्मकुमारी हरेक दिनको बिहान र मध्यान्हमा तरकारी र फलफूलको खोजीमा गाउँ गाउँमा पुग्छिन् अनि अपरान्ह र साँझमा त्यही सामान बेच्दै सदरमुकाम आइपुग्छिन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.