www.tandavnews.com
Fact ~ In search of truth

फोहोर नउठ्दा दुर्गन्धित बन्यो कुश्मा

 

 

संजय रेग्मी ,
पर्वत / ताण्डव न्यूज । 

फोहोर फाल्नको लागि उपयुक्त ठाउँ नभेटाएको भन्दै पर्वत सदरमुकाम समेत रहेको कुश्माबजारको फोहोर उठ्न सकेको छैन् । फोहोर थुप्रिएसंगै बजार क्षेत्र दुर्गन्धित भएको छ भने कोठा भाडामा लिएर बस्दै आएकाहरुका कोठा समेत दुर्गन्धित बनेका छन् ।

गत आर्थिक वर्षसम्म कुश्माको फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सफा कुश्माका लागि सामुहिक अभियान नामक संस्थाले लिएको थियो । उक्त संस्थाले फाल्दै आएको ठाउँको बिकल्प खोज्दै नगरपालिका आँफैले फोहोर व्यवस्थापनको जिम्मा लिएपनि उपयुक्त स्थान नपाउँदा समस्या भएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकिय अधिकृत सुवासकुमार लामिछानेले कुश्माको फोहोर लामो समयदेखि उठ्न नसक्दा समस्या भएको बताउँदै जति सक्दो चाँडै समस्या समाधान गर्ने प्रयास भैरहेको बताए । उनले भने, ‘जग्गा व्यवस्थापनका लागि निरन्तर पहल भैरहेको छ। अहिलेसम्म उपयुक्त जग्गा नपाएका कारण नै फोहोर नउठेको हो ।’

संकलित फोहोर फाल्ने स्थानको अभावमा फोहोर नउठाईँदा कुश्माबजार दिन प्रतिदिन दुर्गन्धित बन्दै गएको छ । नगरपालिकाले फोहोर नउठाउँदा स्थानीयले रातीको समयमा घरको फोहोर सार्वजनिक स्थलहरु सडक, नाली, चौर लगायतका स्थानमा जथाभावी फाल्न थालेका छन् ।

फोहोर उठाउने बिषयमा जनप्रतिनिधिहरु पनि मौन बस्नुले पनि जनप्रतिनिधिहरु कमजोर भएको देखिएको स्थानीयको भनाई छ । लामो समय फोहोर नउठाउँदा दुर्गन्ध फैलिएको भन्दै बजारवासीहरु आक्रोसित बनेका छन् ।

विभिन्न नाममा करहरु संकलन गर्ने तर फोहोरमैलाको व्यवस्थापनमा बेवास्ता गरेको भन्दै बजारबासीहरु आक्रोसित बनेका हुन् । फोहोर फाल्न नपाएपछि बजारबासीहरु घर वरिपरी र चोक चोकमा फोहोरको डंगुर थुपार्न बाध्य भएका छन् ।

लामो समयसम्म फोहोर नउठाईँदा व्यावसायी र कोठा भाडामा लिएर बस्दै आएकाहरु अझ बढी समस्यामा परेका छन् । भाडामा बस्दै आएकी सरिता पौडेल भन्छिन, ‘नगरपालिकाले फोहोर उठाएको कर लिन्छ, तर फोहोर उठाएको छैन् । बाहिर कहाँ फाल्नु? फोहोर कोठामा नै थुप्रिँदा गन्ध आएको छ ।’

दैनिकजसो व्यापार व्यावसायवाट निस्किएको अनावश्यक चिजबस्तुहरु हटाउन नपाउँदा समस्या भएको व्यावसायीहरुको भनाई छ । बजारवासीहरुबाट विभिन्न बहानामा एकीकृत सम्पत्ति कर, भूमि कर, व्यावसाय कर लगायतको राजश्व संकलन गर्ने तर नगरपालिकाले फोहोरमैला जस्तो संवेदनशिल बस्तु व्यवस्थापनका लागि बेवास्ता गरेको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.