www.tandavnews.com
Fact ~ In search of truth

रासायनिक मलरहितको गाउँ

बलेवा ।

गाउँपालिकाभित्र हुने सबै कृषि उत्पादनका लागि रासायनिक मलरहित बनाउन यहाँको एक गाउँपालिकाले अभियान थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले जैविक मल मात्रै प्रयोग गरेर परम्परागत कृषिको जगेर्ना गर्न लागेको अध्यक्ष प्रकाश घर्तीले बताए। रासायनिक मलको प्रयोग बढिरहेका बेला सिङ्गो गाउँमै जैविक मल प्रयोग गराउन पहल गर्ने उद्देश्यले यसको उत्पादनका लागि अभियान थालिएको उनले जानकारी दिए ।

आफ्नो क्षेत्रभित्रका किसानलाई जैविक खेतीमा आधारित कृषि उत्पादनमा लगाएर जैविक गाउँपालिका बनाउने योजना अनुसार अहिले उत्पादन भइरहेका हरेक फसलमा कुनै पनि रसायनिक मल प्रयोग नगर्न, स्थानीय उत्पादनमा जोड दिन र कृषि पर्यटनको केन्द्र बनाउनका लागि विज्ञहरुसँग छलफलसमेत थालिएको अध्यक्ष घर्तीले बताए ।

गाउँका सबै उत्पादनलाई जैविक बनाउन केही किसानलाई परिचालन गर्नाका साथै घरघरमा लिमे तथा पाराकोटे जातका स्थानीय भैसीपालनमा जोड दिइएको र यसबाट जैविक मल उत्पादनमा सहयोग पुग्ने उल्लेख गर्दै उहाँले भने, “जैविक फसलको ब्राण्ड बनाउ“दा पर्यटकीय शहरका बजार ओगट्न सक्छौँ ।”

उक्त गाउ“पालिकाका सबै वडामा तरकारी बाली राम्रो फल्ने गरेको छ । यहाँ उत्पादन भएका तरकारी स्थानीय बजारका साथै छिमेकी बजारमा समेत बिक्री हुने गरेको छ । यहाँ उत्पादित आलु विदेशमासमेत निकै लोकप्रिय रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुसालले बताए ।

ताराखोला भटमास, राजमा, मुला, साग र आलुमा समेत आत्मनिर्भर गाउँपालिका भएकाले दूध उत्पादनमा पनि आत्मनिर्भर बनाउने उद्देश्यले पशु फार्म सञ्चालनका लागि अनुदान, पाडापाडी हुर्काउने किसानलाई पशु सुत्केरी भत्तासमेत दिने नीति बनाइएको छ ।

चालु वर्षका लागि मात्र कम्तिमा ३०० भैसीलाई एक हजार भत्ता दिन तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष घर्तीले बताए । गाउ“पालिकाको बैठकले सामाजिक विकृतिविरुद्ध पनि अभियान चाल्ने निर्णय गरेको छ ।

आलु, बोडी, भट्ट, सिमी, राजमा, च्याउको सुकुटी, क्वाटी, केराउ, मस्यौरा, कर्कलो, मुलाको धजरा, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र स्थानीय जातका धान ताराखोलाका उत्पादन हुन् । यी सबै उत्पादनलाई जैविक प्रमाणित गर्न चाहिने शर्त पूरा गरेर लेबलसमेत बनाई बिक्री गर्ने व्यवस्थाका लागि प्राविधिक तयारी गर्न विज्ञहरुको टोलीले सुझाएको छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery