www.tandavnews.com
Fact ~ In search of truth

जनप्रतिनिधिको तलब सामाजिक काममा लगानी

म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गरेका छन् ।

राज्यले जनप्रतिनिधिको तलबको रूपमा उपलब्ध गराएको रकम गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गरेका हुन् । अन्नपूर्ण गाउँपालिका–६ घारस्थित मुक्तिमार्ग माविले ६०औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरेको समारोहमा अध्यक्ष पुनले हालसम्म तलब भत्ता वापत प्राप्त भएको सात लाख ३५ हजार कोषमा जम्मा गरेको जानकारी दिए ।

Batas

कोषबाट गत वर्ष पाउद्धार माविबाट एसइई उत्तीर्ण गरेका पाउद्धारका काजल रोकालाई इञ्जिनीयरिङ विषयको अध्ययनका लागि एक लाख पचास हजार सहयोग गरेका छन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारण राम्रो जिपिए ल्याएर एसइई उत्तीर्ण गरेका रोका आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न क्याम्पस भर्ना हुन नसकेर समस्यामा परेका थिए ।

यसैगरी कालीगण्डकी नदीमा आएको बाढीले बगाएको अन्नपूर्ण–४ कोप्चेपानीको धौलागिरि आधारभूत विद्यालयको भवन पुनःनिर्माण र ज्ञानप्रकाश माविलाई ५०÷५० हजार सहयोग गरेका छन् । गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सर्वोकृष्ट जिपिए ल्याउने एक÷एक जना छात्रछात्रालाई ५०÷५० हजार पुरस्कार उपलब्ध गराउने अध्यक्ष पुनले बताए ।

विकट र दुर्गम क्षेत्रका विपन्न बालबालिकाको उच्च शिक्षामा पहुँच बढाउन गरीब, विपन्न र अनाथ बालबालिकालाई सघाएको अध्यक्ष पुनको भनाइ छ । गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक ३० हजार तलब तोकेको छ ।

तलबका अतिरिक्त विभिन्न बैठक, कार्यक्रममा सहभागी हुँदा प्राप्त गरेको भत्तालाई पनि उनले कोषमा जम्मा गरेका छन् । पारिवारिक समस्याका कारण पढ्ने उमेरमा कक्षा ८ उत्तीर्ण भएपछि भारतीय गोर्खा सैनिकमा भर्ती हुन जानुपरेको आफ्नो जस्तो बाध्यता अरुलाई नपरोस् भनेर तलबलाई शिक्षामा परिचालन गर्ने निर्णय गरेको अध्यक्ष पुनले बताए।

भारतीय गोर्खा सैनिकका सेवानिवृत्त क्याप्टेन पुनले सेवानिवृत्त भएपछि म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका छन । विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उनी नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित भएका थिए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.