www.tandavnews.com
Fact ~ In search of truth

लप्सी प्रशोधन गर्न भ्याइनभ्याई

पर्वत ।

लप्सी जिल्लाका रूपमा परिचित पर्वतमा यस वर्ष फलेका लप्सी टिपेर प्रशोधन गर्न यतिबेला कृषकलाई भ्याइनभ्याई भएको छ ।

नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने यस जिल्लाका विभिन्न तीन स्थानमा प्रशोधन उद्योग सञ्चालित छन् । जिल्लाको मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योग, झाक्रीसल्ला लप्सी तथा खाद्यान्न उद्योग, दुर्लुङ्ग र लप्सी विकास समूह खानीगाउँमा रहेका तीन वटा उद्योगले यसै सातादेखि प्रशोधन थालेका हुन् । धान कोदो जस्ता मुख्य खाद्यान्न बाली थन्क्याइसकेपछि उनीहरूले प्रशोधन शुरु गरेका हुन् ।

गत वर्ष जिल्लामा झण्डै ६० टन लप्सी प्रशोधन गरिएकामा यस वर्ष एक सय टन लप्सी प्रशोधन गर्ने लक्ष्य राखिएको छ । जिल्लामा कूल १३० मेट्रिक टन लप्सी उत्पादन भए पनि अझै ३० मेट्रिक टन लप्सी प्रशोधन हुन सकेको छैन । जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको पर्वत सामुदायिक खाद्य प्रशोधन उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए । उनले आफ्नो उद्योगमा मात्र यस वर्ष झण्डै ५० टन लप्सी प्रशोधन गर्ने योजना रहेको बताए ।

जलवायु परिवर्तनको असरका कारण अहिलेसम्म लप्सी नपाकेको र गाउँ गाउँमा रहेका ठूला बोटका लप्सी टिप्ने जनशक्तिको अभाव भएकाले पनि गत वर्षभन्दा यस वर्ष प्रशोधनमा ढिलाइ भएको हो । भुसालका अनुसार अहिले उद्योगमा जति बढी लप्सी आए पनि प्रशोधन गर्ने योजना रहेको सुनाए ।

तीन वर्षपहिले उत्पादित लप्सीका दश लाख बराबरका परिकारहरू अमेरिका पठाएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहेको बताए । उनले व्यावसायिक हिसाबले उद्योगबाटै थोकमा विदेश नगए पनि गत वर्ष विदेश जाने नेपालीबाट खुद्रा बिक्रीका रूपमा झण्डै १५ टन विदेश गएको बताए ।

लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार बन्दै आएका छन् । एक गाउँ एक उत्पादनअन्तर्गत नेपाल सरकारबाट लप्सी प्रशोधनसम्बन्धी आधुनिक मेशिन भित्रिएपछि गत वर्षदेखि प्रशोधनमा समेत सहज भएको कृषकको भनाइ छ । पर्वतमा १६ वर्षअघि देखि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले मात्रै यस वर्ष ५० मेट्रिक टन प्रशोधन गर्ने लक्ष्य राखेको छ भने अन्य दुई उद्योगले पनि २०÷२० टन प्रशोधन गर्ने योजना बनाएको बताएका छन् ।

लप्सी प्रशोधनबाट यस वर्ष झण्डै एक करोडको कारोवार गर्ने तीनवटै उद्योग सञ्चालकहरूको अपेक्षा रहेको छ । सामुदायिक खाद्य प्रशोधन उद्योगले मात्र विगतका वर्षहरूमा ३० लाखभन्दा बढीको कारोवार गर्दै आएकामा यस वर्ष धेरै प्रशोधन गर्ने लक्ष्य राखिएकाले कारोवार पनि बढ्ने सञ्चालक थानेश्वर भुसालले बताए । एक जिल्ला एक उत्पादनअन्तर्गत लप्सी छनोट हुनुले उद्योगको विस्तार र विकासमा थप हौसला मिलेको हो ।

जिल्लाका साविकका ३५ गाविसमा लप्सीको उत्पादन हुँदै आएको छ । कुनै बेला जङ्गलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बनेको छ । लप्सी प्रशोधनमा तत्कालीन जिल्ला वन कार्यालय, जिल्ला कृषि विकास कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिले समेत सघाउ पुर्याउँदै आएका थिए ।

कृषि उद्यमी तथा नेपाली काङ्ग्रेसका पूर्वमुख्य सचिव ऋषिकेश तिवारीले २०५५ सालदेखि पर्वतमा लप्सीको सम्भावना देखेर यसको प्रशोधन प्रक्रिया शुरु गरेका थिए । पर्वत सामुदायिक विकास संस्थामार्फत उद्योग सञ्चालनका लागि प्राविधिक प्रक्रियामा लाग्नुभएका तिवारीको सक्रियतामा लामो सङ्घर्षपछि उद्योग सञ्चालनमा ल्याइएको थियो । वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि पर्वतका झण्डै साबिकका ३५ गाविसमा यसको व्यावसायिक खेतीसमेत शुरु भएको छ ।

पर्वतमा लप्सीसँगै अदुवा, अलैँची, अमला, बेसार, टिमुर, खुर्सानी लगायतको प्रशोधनसमेत हुँदै आएको छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.