www.tandavnews.com
Fact ~ In search of truth

मोदी र लमाए खोलामाथि पुलको काम सुचारु

 

 

संजय रेग्मी
पर्वत / ताण्डव न्यूज ।

कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वत जिल्लामा पर्ने २ ओटा पुलको निर्माण कार्य सुचारु भएको छ । निर्माण सुरु गरिएपनि निर्माण कम्पनीले बीचैमा काम छोड्दा राष्ट्रिय प्राथमिकता प्राप्त मोदीखोला र लमाए खोलामाथि निर्माण भैरहेका दुई ओटै पुलहरु अलपत्र परेका थिए ।

Batas

पर्वतको कुश्मा नगरपालिका ५ को मोदीखोला र फलेवास नगरपालिका १० कुर्घाको लमाए खोलाको पुलको काम गएको सोमबारदेखि शुरु भएसंगै निर्माण कम्पनीले निर्माण सामाग्री र उपकरणहरू कार्यस्थलमा पठाएको छ ।

लमाए खोलाको पुल बनाउन ठेकेदार कम्पनीले नयाँ प्रक्रिया सुरु गरेको छ । ६० मिटर लम्बाइको मोदीखोलाको पुल ९ करोड १४ लाखमा मुक्तिनाथ कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । २५ मिटर लम्बाइको लमाए खोला पुल ५ करोड ६४ लाखमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएको थियो ।

०७४ मंसिरमा निर्माण सुरु गरेर मोदीखोलाको पुलको एकातर्फको पिलर र बीचको पिलर निर्माण हुँदाहुँदै ठेकेदार कम्पनीले काम छाडेको थियो । लमाए खोलाको पुल गत वर्ष नै निर्माण सुरु गर्ने सहमति भएको थियो। स्थानीयका अनुसार लमाएको ठेक्का लिएको नयाँ बाटो गौचन जेभीले पेटी ठेकेदारलाई जिम्मा लगाएको थियो ।

कुर्घातर्फ पिल्लर खन्ने क्रममा कडा चट्टान परेपछि पेटी ठेकेदारले काम गर्न नसक्ने भन्दै सम्पर्क बिहीन भएपछि पुल निर्माण रोकिएको थियो । पुलको निर्माणकार्य लामो समय रोकिएपछि सांसद पदम गिरीले ठेकेदारलाई फिल्डमै डाकेर काम छिटो थाल्न निर्देशन दिएका थिए ।

मोदीको पुल निर्माणको जिम्मा लिएको मुक्तिनाथ कन्स्ट्रक्सनका सञ्चालक ओम गौचनले काम अलपत्र छोडेर बेपत्ता नभएको दाबी गरेका छन् । मोदीमा पानीको सतह बढेका कारण काम गर्न नसक्ने अवस्था भएका कारण केही समय मात्र काम स्थगन गरेको उनको भनाई छ । मोदीखोलामा पुल डिजाइन गर्दा प्राविधिक त्रुटि भएका कारण पनि समयमै काम सक्न समस्या भएको गौचनले बताए ।

लोकमार्ग आयोजना कार्यालयले मोदीवेणीका नृसिंह मन्दिर लगायत ऐतिहासिक धार्मिक संरचना बिग्रने गरी डिजाइन गरेपछि सरोकारवाला आन्दोलित भएका थिए । मोदीवेणीका सरोकारवालाको दबाबपछि पुल करिब एक सय मिटर माथि सारिएको थियो ।

कालीगण्डकी करिडोरकै बजेट र सोही बमोजिमको प्राथमिकता प्राप्त कालीगण्डकी लोकमार्ग सडक अन्तर्गत पर्वतको कुश्मादेखि स्याङ्जाको मिर्मी सम्मको करिब ६८ किलोमिटर सडक खण्डमा ट्रयाक खुलाउने तथा स्तरवृद्धिको काम अघिल्लो वर्षदेखि तीव्र रूपमा अघि बढेको थियो।

स्याङ्जाको आँधीमुहानदेखि पर्वत र बागलुङको मालढुंगासम्म करिडोरको दाहिने पारेर रेखांकन गरिएको यो सडकबाट पर्वत, स्याङ्जा, गुल्मी र बागलुङका नागरिकलाई सजिलो हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.