www.tandavnews.com
Fact ~ In search of truth

धर्म बोकेर राजनीति गर्दैनौ : सभापति देउवा

 

 

काठमाडौँ ।

नेपाली काँग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीको भनाइ छ ।

महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको अन्तरक्रियाकै क्रममा आज पत्रकार एवं बुद्धिजीवीसँग भएको भेटघाटमा पार्टीले दलित, जनजाति, मधेशी, महिला, अल्पसङ्ख्यक र सबै धर्म र विचारको संरक्षण गर्न चाहेको जनाएको छ ।

सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेस समावेशी र पारदर्शी पार्टी भएको बताउ । उनले एक प्रसङ्गमा निर्मला पन्त हत्या प्रकरणमा काँग्रेस वा कम्युनिष्ट वा प्रहरी जो दोषी भए पनि छाड्न नहुनेमा जोड दिँदै पत्रकारले पनि दोषी खोज्न सहयोग गर्नुपर्ने बताए।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय’ नै सच्चा समाजवाद हो र समाजवाद मिसिएको लोकतन्त्र नै सच्चा समाजवाद हो भन्दै पार्टीले कम्युनिष्टहरुसँग समाजवादबारे बहस गर्न चाहेको स्पष्ट गरे । पार्टीले राजनीतिलाई सिद्धान्तमा उभिने र सम्मानित बनाउन चाहेको पनि उनले बताए ।

महामन्त्री डा शशाङ्क कोइरालाले कम्युनिष्टहरुले आफूँसँग जति छ त्यसलाई बराबरी वितरण गर्न चाहेको तर काँग्रेसले उत्पादन वृद्धि गरी बराबरी बाँड्न चाहेको भन्दै दुई दलको समाजवादको परिभाषा यसरी नै फरक भएको विचार व्यक्त गरे ।

पार्टी उपसभापति विमलेन्द्र निधिले आगामी दिनमा सदन र संसद्मा पार्टीको भूमिका बढाइने, प्रशिक्षण एवं सङ्गठन सुदृढ गरिने तथा निर्वाचन जित्न निरन्तर तयारी गरिने जानकारी दिए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले पत्रिकाका स्तम्भकार, नागरिक समाज आदिसँग निरन्तर अन्तरक्रिया गरिरहेको र आगामी दिनमा पनि सुझावहरु लिइरहने बताए।

सो अवसरमा समाचार समिति, दैनिक र साप्ताहिक पत्रिका, अनलाइन मिडिया तथा पत्रकार सङ्गठनका प्रतिनिधि र बुद्धिजीवीले काँग्रेसलाई आफ्नै सिद्धान्त र धरातलमा उभिन, आफ्नो स्थिति स्पष्ट गर्न, कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद र प्रजातान्त्रिक समाजवादबारे भिन्नता छु्ट्याउन, धर्मबारे स्पष्ट विचार राख्न, सत्तामा आउने मार्गचित्र तयार गर्न, नयाँ मतदातालाई सन्देश दिन, राजनीतिक कार्यदिशा स्पष्ट गर्न, संसद् अवरुद्ध नगर्न, आफ्ना गल्तीको इमान्दारीपूर्वक समीक्षा गर्न, जनतासँग संवाद गर्न, सङ्घीयता र धर्मनिरपेक्षताबाट पछि नहट्न, मुलुकको समृद्धिको नेतृत्व गर्न तथा गैसस र अन्तरराष्ट्रिय गैससबाट प्रभावित नहुन सुझाव दिएका थिए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.