www.tandavnews.com
Fact ~ In search of truth

बाँदरले रुखको सुन्तला रित्तै बनाएपछि…..

 

हरि बाँस्तोला
पोखरा ।

सिक्टस ग्रिनिङ भाइरसका कारण कास्कीका सुन्तला सखाप भएसँगै किसान मारमा परेका त थिए नै, जसोतसो बचेका ठाउँमा पनि बाँदर आतङ्कले पिरोल्न थालेको छ ।

Batas

कास्कीको भरतपोखरी, हंसपुरलगायत स्थानमा सुन्तला सखाप जस्तै भएका बेला निर्मलपोखरी, कृस्ती लगायतका स्थानका केही किसानले अझै पनि सुन्तला उत्पादन राम्रो गरेका छन् । उत्पादन भएका सुन्तला पहेँलपुर भई टिप्ने बेलामा यतिखेर बाँदर कुरेर बस्नुपर्ने उनीहरूको दैनिकी जस्तै बनेको छ ।

पोखरा–२१ फेदीपाटन खर्कडाँडाका नारायण पौडेलका अनुसार किसानलाई बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ । “विगतमा बाँदरले सुन्तला खाएको कम नै देखिन्थ्यो,” विगतको अनुभव सुनाउँदै ७२ वर्षीय पौडेलले भने, “अहिले भने जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप पार्न थालेका छन् ।”

असोज महीनादेखि बाँदरबाट सुन्तला जोगाउन श्रीमती नर्मदा र एउटा कुकुरसहित बगैँचामा धरालो बस्दै आएको बताउँदै उनले धपाए पनि नटेर्ने बाँदरको प्रवृत्तिले आफूहरू ठूलो मारमा परिरहेको दुखेसो सुनाए । बाँदर साँझपख बास बसेपछि बस्तीमा नआउने गरेको विगतको स्मरण गर्दै कृषक पौडेलले थपे, “अहिले त दिन न रात, जुनसुकै बेलामा पनि आउँछन् ।”

बेलुका साँझ परेपछि बाँदर वनमा बास बसे भनेर कुकुरसहित घरमा आएपछि यही पुस महीनाको ११ गते बाँदरको एक हुलले मिनेट भरमा दुई वटा बोटको सुन्तला रित्तै बनाएको उनले पीडा सुनाए ।विगत २२ वर्षअघि सारेका सुन्तलाका बोटले पाँच वर्षदेखि लगातार उत्पादन दिन थालेको बताउँदै उनले राज्यले बजारीकरण, भण्डारणका साथै बाँदर नियन्त्रणमा सहयोग गर्नुपर्नेमा जोड दिए।

तीन मुरी धान उत्पादन हुने दुई रोपनी क्षेत्रफलमा लगाएका २०० बिरुवामध्ये लगभग १५० बोटले फल दिन शुरु गरेको बताउँदै उहाँले यस वर्ष बोटबाटै ठेकेदारलाई तीन लाख २० हजार रुपैयाँमा सुन्तला बिक्री गरेको बताए ।जङ्गलको बीच भागमा रहेको सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएको बताउँदै श्रीमती नर्मदाले बाँदरले अटेरी गर्ने, कतिपय अवस्थामा घरभित्रै पसेर मकैलगायत अन्नबाली खाने गरेको बताए ।

उत्पादन बढाउने लक्ष्यका साथ पौडेल दम्पतीले गोठमा रहेको गाई र भैँसीको पिसाब सङ्कलन गरी प्रत्येक वर्ष एउटा सुन्तलाको बोटको फेदमा झण्डै आठ पाथी गहुँत राख्ने गरेका छन् । बगैँचामा सुन्तलाको एउटा बोट मरेपछि त्यहाँ दुई वटा बिरुवा थप्दै आएको बताउने उनीहरूले सुन्तलामा सुनौलो भविष्य देखेको उल्लेख गरे ।

पोखरा महानगरपालिका–२१ फेदीपाटनस्थित उक्त स्थानमा सात कृषकले लभगभ ६० रोपनी भिरालो पाखो जग्गामा लगाएको सुन्तला बिक्रीबाट यस वर्ष मात्र २० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.