www.tandavnews.com
Fact ~ In search of truth

विषादी प्रयोगकर्तालाई डेढ लाखसम्म जरिवाना

 

काठमाडौँ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटाबाट विषादी ल्याउने कार्यलाई रोक्न आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ प्रस्तुत गर्दै उनले विषादीको अनियन्त्रित रुपमा हुँदै आएको प्रयोगलाई रोक्न विद्यमान कानूनलाई संशोधन गर्न विधेयक ल्याइएको जानकारी दिए।

विषादी अनाधिकृत प्रयोग गर्नेलाई ५० हजार रुपैयाँ देखि एकलाख ५० हजारसम्म जरिवाना गर्न सकिने विधेयकमा व्यवस्था गरिएको मन्त्री खनालले बताए । यसअघि बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको आजैको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गर्यो । यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथि भएको सैद्धान्तिक छलफल छ सदस्यले भाग लिएका थिए । छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले कतिपय ऐनलाई सङ्घीयता र संविधानअनुरुप बनाउनु पर्ने भएको हुँदा त्यसलाई व्यवस्थापन गर्न विधेयक ल्याइएको जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक यही पुस २२ गते अपराह्न १ बजे बस्नेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.