www.tandavnews.com
Fact ~ In search of truth

काजकिरियाका लागी उपयोगी बन्दै फिर्केको बूढानीलकण्ठ

 

हरि बाँस्तोला

पोखरा ।

Batas

पोखराको बढ्दो बस्ती विकासको क्रमसँगै मानिसको मृत्युपश्चात् गरिने काजकिरियाका लागि बूढानीलकण्ठ आवासीय किरियापुत्री भवन उपयोगी बन्दै गएको छ ।

पोखरा महानगरपालिका वडा नं ४ फिर्केखोलास्थित साउनेपानीमा निर्मित किरियापुत्री भवन विभिन्न स्थानबाट आई सेवा, पेशा व्यवसायका क्रममा पोखरामा बासोबास गर्दै आएका व्यक्तिले परिवारजनको निधनपश्चात् गरिने काजकिरियाका लागि उपयोगी बनेको हो ।

डेरामा बस्ने मात्र नभई पोखराकै स्थानीयवासीका लागि पनि यो भवन उपयोगी बन्दै गएको छ । पोखराको बस्ती विकाससँगै उक्त स्थानस्थित चौतारामा किरिया कर्म गर्ने गरिएकामा समयको गतिसँगै स्थानीय पहलमा ठाँटी निर्माण गरेको सो स्थानमा बूढानीलकण्ठ आवासीय भवन निर्माण गरी सञ्चालनमा ल्याइएको निर्माण समितिका अध्यक्ष राजेन्द्रनिधि कोइरालाले जानकारी दिए ।

उनका अनुसार विसं २०७४ बाट सञ्चालनमा आएको सुविधा सम्पन्न आधुनिक भवनमा हालसम्म दिवामा १३ परिवार र आवासीयरुपमा नौवटा परिवारले आफन्तको निधनमा किरियाकर्म सम्पन्न गरेका छन् ।

आवासीयरुपमा बस्नका लागि एउटा कोठाको तीन हजार र दुईवटा कोठाको पाँच हजार रुपैयाँ लिने गरिएको छ । दिवा सेवा लिनेका लागि प्रतिपरिवार  एक हजार रुपैयाँका दरले विद्युत्, पानीलगायत सरसफाइ शुल्क लिने गरेको उनले बताए ।

पोखरा बागलुङ सडकखण्डको फिर्केपुल नजिक रहेको लगभग साढे दुई रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा ६६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सञ्चालक समितिका सचिव भरतराज पौडेलले बताए ।

उनका अनुसार उक्त साढे दुई तल्ले भवनको पहिलो तल्लामा एक हलसहित दुई कोठा, दोस्रो तलामा हलसहित तीन कोठा तथा तेस्रोमा ज्येष्ठ नागरिक मिलन कक्ष रहेको छ । भवनको माथिल्लो तल्लामा रहेको सभाहलमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म समाजका ज्येष्ठ नागरिकको उपस्थितिमा प्रवचन, भजन कृतन हुँदै आएको बताउँदै उहाँले समितिले उनीहरूका लागि दिवा खाजाकोसमेत व्यवस्था गर्दै आएको जानकारी दिए ।

सचिव पौडेलका अनुसार ज्येष्ठ नागरिकको खाजाको व्यवस्था र सरसफाइका लागि एक जना कर्मचारीको समेत व्यवस्था गरिएको छ ।बूढानीलकण्ठ किरियापुत्री भवनको दिगो व्यवस्थापनका लागि शुरु गरिएको अक्षयकोषमा विभिन्न सहयोगी दाताबाट सात लाख रुपैयाँ सङ्कलन भएको उल्लेख गर्दै उहाँले सो कोषमा ३० लाख
रुपैयाँ पुर्याउने समितिको लक्ष्य राखिएको बताए ।

विसं २०७१ वैशाख १९ देखि २६ गतेसम्म सञ्चालन गरिएको महायज्ञबाट ३८ लाख ३० हजार रुपैयाँ सङ्कलन गरी निर्माण कार्य शुभारम्भ गरिएको समितिका कोषाध्यक्ष धर्मराज पराजुलीले जानकारी दिए ।

उहाँका अनुसार नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं तत्कालीन कास्की निर्वाचन क्षेत्र नं ३ का सांसद रवीन्द्र अधिकारी र सांसद बृन्दा रानामगरबाट संसद् विकास कोषबाट एक÷एक लाख र अर्का सांसद भाष्कर भद्राबाट एक लाख ५० हजार रुपैयाँ तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट १३ लाख रुपैयाँ प्राप्त भएको थियो ।

पोखराको गणेश टोल निवासी नीरञ्जन बाटाजु र उनका परिवारजनबाट आठ लाख २५ हजार सहयोग प्राप्त भएको बताउँदै पराजुलीले बाँकी रकम विभिन्न सङ्घसंस्था एवं चन्दादाताको सहयोगले उक्त बहुद्देश्यीय भवन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.