www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशको योजना तर्जुमाका लागि सुझाव सङ्कलन

म्याग्दी ।

गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय योजना तर्जुमाका लागि शुक्रबार म्याग्दीका सरोकारवालाबाट सुझाव सङ्कलन गरेको छ ।

बेनीमा छलफल कार्यक्रमको आयोजना गरेर प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था र सरोकारवालाबाट सुझाव सङ्कलन गरेको हो ।

Batas

छलफलका क्रममा म्याग्दी जिल्लाको समग्र विकासको अवस्था, समस्या, चुनौती, सम्भावना र समस्याको समाधानका उपायको विषयगत रूपमा लिखित सुझाव सङ्कलन गरिएको छ ।

सहभागीले म्याग्दीको पर्यटन, जलविद्युत्, कृषि, पशुपालन र वनपैदावारको क्षेत्रमा रहेको सम्भावनालाई गरीबी निवारण, आयआर्जन वृद्धि र जीवनस्तर रुपान्तरणमा मद्दत पुग्ने किसिमका योजना तथा कार्यक्रम तय गर्न सुझाव दिएका छन् ।

म्याग्दीको सम्भावनालाई विकास र आयआर्जनमा रुपान्तरणका लागि पूर्वाधार निर्माण र सामाजिक विकासमा प्राथमिकता दिन सुझाव दिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए। भौगोलिक विकटता, सामाजिक पछौटेपन, बसाइँसराइका कारण उत्पन्न जटिलताको समाधानमा प्राथमिकता दिनुपर्ने सुझाव रहेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेशको वस्तुगत धरातलमा आधारित रहेर सरोकारवालाको सुझावअनुसार पञ्चवर्षीय योजना बनाउन लागिएको बताए । गण्डकी प्रदेशका सांसद विनोद केसीले आवश्यकता र समस्याका आधारमा तय गरिएका योजना, नीति र कार्यक्रममा अपनत्व महसुस भई प्रभावकारी कार्यान्वयमा सघाउ पुग्ने भएकाले सुझाव सङ्कलन गरिएको बताए।

आयोगका अध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले सरोकारवालाको सुझाव र विषयवस्तुलाई प्रदेशको नीति, योजना र बजेटमा समेटिने बताए ।

सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।

एक जना अहेवको व्यवस्था गरेर यसै हप्तादेखि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको वडाध्यक्ष जीवन मल्लले बताए । एकाइलाई व्यवस्थित, नियमित र प्रभावकारी बनाउन पूर्वाधारको व्यवस्था गरिने अध्यक्ष मल्लले बताए।

पिप्ले पुगेर आउन दुई घण्टाभन्दा बढी समय लाग्ने गरेकामा एकाइ स्थापना भएपछि करीब डेढ सय घरधुरीको बसोबास रहेको मौवाफाँटवासीलाई सहज भएको छ ।एकाइबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सुविधा दिइने भएको छ । (रासस)
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.