www.tandavnews.com
Fact ~ In search of truth

खोरिया खनेर कोरियाको कमाइ गर्दै कुश्मीशेराका भीम

बलेवा ।

पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देखेका थिए । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उनी कोरिया पुगे । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किए ।

कोरियमा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्किए । उनले खोरिया खनेर कोरियाको कमाइ गर्ने अभियान थाले । आधुनिक खोर बनाएर बाख्रापालन गर्दै आएका आचार्यसँग २८ स्थानीय खरी जातका बाख्रा छन् । उनले १० बाख्राबाट बाख्रापालन थालेका हुन् ।

व्यावसायिक रुपमा बाख्रापालन गर्दैआउनुभएका आचार्यले खोर बनाउँदा र बाख्रा किन्दा झण्डै तीन लाख रुपैयाँ खर्चिएका थिए । ‘नागढुङ्गा बाख्रा फार्म’का सञ्चालक उनले कुखुरापालनसँगै तरकारीखेती गर्दै आएका छन् ।
“बाख्राको मल हालेर तरकारीखेती गरिरहेको छु,” उनले भने । ब्रोइलर कुखुराको अण्डा आचार्यले स्थानीय बजारमा बिक्री गरेर पर्याप्त अम्दानी गर्दै आएका छन । “महीनैपिच्छे आम्दानी हुने भए पछि कुखरापालन र तरकारीखेतीसमेत गरिरहेको छु,” उनले भने । अहिले आचार्यको खोरमा रहेका बाख्रा र कुखुराले उनलाई कोरियाको झल्को मेटाएको छ । महीनामा खर्च कटाएर ३० हजार रुपैयाँ आम्दानी हुन्छ । उनको काममा श्रीमती हेमाले सहयोग गर्दै आएका छन् ।

आचार्यले आधुनिक मिनीटेलर हलोको प्रयोग गरी खेती गर्छन । पाँच मुरी कोदो फल्ने बारीमा केराका बिरुवा हुर्किँदै छन् । “झण्डै दुई सय केराको बिरुवा लगाएको छु,” उनले भने, “दुई वर्षमा १५ लाख रुपैयाँ बराबरको केरा बेच्ने योजना छ ।” लगानी गरेर तत्काल फाइदा खोज्ने प्रवृत्तिका कारण नेपालमा मेहनत गर्नेको सङ्ख्यामा कमी आएको उनी बताउछन्। समयअनुसारको आयमूलक खेती गर्ना आचार्यले सुझाव दिए ।   रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.