www.tandavnews.com
Fact ~ In search of truth

विद्यालय ब्यूँताउन महायज्ञ,४८ लाख संकलन

 

 

संजय रेग्मी ,
पर्वत / ताण्डव न्यूज ।

बन्द भएको विद्यालय सुचारु गराउनको लागि पर्वतको जलजला गाउँपालिका २ बगरफाँटमामा लगाईएको महायज्ञमा ४८ लाख रुपैयाँ संकलन भएको छ ।

Batas

विद्यार्थी अभावमा ६ बर्षदेखि बन्द रहेको सिद्धबाबा प्राथमिक विद्यालयलाई ब्यूँताउन लगाईएको धनधान्याञ्चल महायज्ञमा ४८ लाख १० हजार ५ सय रुपैयाँ सहयोग जुटेको महायज्ञ मुल आयोजक समिति अन्तरगत प्रचारप्रसार उपसमितिका संयोजक कृष्ण जि.सी.ले जानकारी दिए । महायज्ञमा करिब तीस मुरी धान पनि संकलन भएको छ। अन्तिम दिन सोमबार मात्र सात लाख रुपैयाँ संकलन भएको छ ।

विद्यार्थी नै नपाएपछि ६ बर्षअघि २०६८ सालदेखि बन्द रहेको विद्यालयमा अब भने बर्षमा एउटा कक्षा थप गर्दै कक्षा संचालन गर्न लागिएको छ । गुणस्तरीय शिक्षाको खोजीमा अभिभावकहरूले सन्तानलाई सदरमुकाम सार्ने तथा कतिपयले गाउँमै रहेका निजी विद्यालयमा भर्ना गरेपछि विद्यालयमा विद्यार्थी शून्य भएको थियो । स्थानीयबासीको पहलमा गत शैक्षिक सत्रबाट कक्षा १ को पढाइ भने सुरु भइसकेको छ । उक्त कक्षामा अहिले ४१ जना विद्यार्थी अध्ययनरत छन ।

महायज्ञबाट संकलन भएको चन्दाले विद्यालय व्यवस्थित गर्दै प्रत्येक वर्ष कक्षा थप गर्ने, अंग्रेजी र नेपाली दुवै माध्यमका कक्षा सञ्चालन गर्ने लगायत योजना रहेको बताइएको छ । यस्तै कम्प्युटर शिक्षा, आधुनिक पुस्तकालय, स्वच्छ वातावरण निर्माण गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हिराबहादुर बरुवालले जानकारी दिए ।

करिब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँटमा सामुदायिक विद्यालय नहुँदा त्यहाँका बालबालिकाहरु अध्ययनका लागि म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेका विद्यालयमा जाने गरेका छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.