www.tandavnews.com
Fact ~ In search of truth

एक विद्यार्थी घर ,एक बोट ओखर

 

म्याग्दी ।

म्याग्दीको धौलागिरि गाउँपालिकाले प्रत्येक विद्यार्थीका घरमा ओखर रोप्ने अभियान शुरु गरेको छ । ‘एक विद्यार्थी एक घर, एक बोट ओखर’ कार्यक्रमअन्तर्गत ओखरका बिरुवा वितरण शुरु गरिएको छ ।

गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडाध्यक्ष राजाराम सुवेदीले मङ्गलबार मराङमा रहेको जनविकास माविका ११२ विद्यार्थीलाई दुई वटाका दरले दाँते जातका ओखरका बिरुवा वितरण गरेर अभियानको शुरुवात गरेका हुन् । गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई एउटा घरमा दुई वटाका दरले नदोहोरिने गरेर ओखरका बिरुवा वितरण गरिने सुवेदीले बताए ।

गत असारको गाउँसभाले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा समावेश भएको यस कार्यक्रम कार्यान्वयन गर्न गाउँसभाबाट दश लाख बजेट विनियोजन गरेको थियो । विद्यार्थीको स्मरणशक्ति वृद्धि गरी सिर्जनात्मकताको प्रष्फुटन गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको सो कार्यक्रमले स्थानीयवासीको आयआर्जन, वातावरण संरक्षण र वन विकासमा सहयोग पुग्ने अध्यक्ष थमसरा पुनले बताए ।

अधिकांश उच्च पहाडी भूगोलमा अवस्थित गाउँपालिकामा बालबालिकाको बौद्धिक क्षमता विकासमा उपयोगी मानिएको ओखर खेती प्रवद्धर्न गरी शैक्षिक र आयआर्जनको सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष पुनको भनाइ थियो ।

उनका अनुसार आगामी आवमा गाउँपालिकाका सबै घर र विद्यार्थीलाई कम्तीमा एक वटाका दरले ओखरको बिरुवा वितरण गरिने छ । यस वर्ष बाहिर जिल्लाबाट बिरुवा ल्याएर वितरण गरिए पनि अर्को वर्षका लागि ७ नम्बर वडा हिलापोखरीका समबहादुर थापाले ओखरका बिरुवा उत्पादन शुरु गरेका छन् । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.